संसदमा मन्त्रीहरू नआउँदा सभामुखलाई तनाव, कांग्रेसले सोध्यो- ‘उपचार गर्न जानुभाकाे हाे?’

संसदमा मन्त्रीहरू नआउँदा सभामुखलाई तनाव, कांग्रेसले सोध्यो- ‘उपचार गर्न जानुभाकाे हाे?’

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कार्यसूचीअनुसार संसद अगाडि नबढेकोमा आपत्ति जनाएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयको सम्बन्धमा सांसदहरूले उठाका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची थियो।

शून्य समयको कार्यक्रम सकिएपछि कांग्रेस सांसद खतिवडाले सभामुखसँग समय माग्दै संसद कार्यतालिका अनुसार अघि नबढ्नुको कारण माग गरे।

उनले भने, ‘हामीलाई उपलब्ध गराएको सम्भावित कार्यसूचीमा शून्य समय र विशेष समयमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने भनिएको छ। तर, अगाडिको लहरमा हेर्दा मन्त्रीहरूलाई खडेरी लागेको छ। उपचार गर्न जानुभाछ कि कहाँ जानुभाछ थाहा छैन। शीर्ष नेताहरू पनि अनुपस्थित हुनुहुन्छ। कार्यतालिकाअनुसार सदन पनि प्रवेश गरेन। यसमा जानकारी पाउन पाए अझ खुसी हुन्थेँ।’

जसको जवाफमा सभामुख देवराज घिमिरे स्पष्ट जवाफ दिन सकेनन्। मन्त्रीहरूले जवाफ दिने कार्यको तयारी भइरहेको मात्र भनेर टारे।

उनले भने, ‘यहाँले उठाउनुभएको विषयमा ध्यानआकृष्ठ भएको छ। यसको तयारीहरू भइरहेकै छ। समयमा माननीय मन्त्रीज्यूहरूको उपस्थित नभएकाले यसलाई अब उता गरिने व्यवस्था जानकारी गराउन चाहन्छु।’

यद्यपि उनले दिएको जवाफ स्पष्ट भने थिएन। उनले भनेको ‘उता’को अर्थबारे धेरै सांसद अनविज्ञ भए पनि प्रष्टिकरण सोध्ने हिम्मत कसैले गरेनन्।

असार १६, २०८१ सोमबार १२:३१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।