सोमबार बिहानैबाट सत्तामा उथलपुथल सुरू : नागरिक उन्मुक्तिमा ‘कु’, बालुवाटारमा ओली-प्रचण्डको छलफल

सोमबार बिहानैबाट सत्तामा उथलपुथल सुरू : नागरिक उन्मुक्तिमा ‘कु’, बालुवाटारमा ओली-प्रचण्डको छलफल
सोमबार प्रधानमन्त्री निवासमा छलफल गर्दै एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड।

काठमाडौं : एमाले र नेपाली कांग्रेसका नेतृत्वबीच एकल संवाद भएसँगै सत्ता गठबन्धनमा दैनिक बैठक सुरू भएको छ। शनिबार एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।

लगत्तै आइतबार ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच लामो छलफल भयो। अन्तमा छलफलमा रवि लामिछाने पनि मिसिए।

प्रधानमन्त्री प्रचण्डले सोमबार नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सहभागी गराउन मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका थिए।

तर, सोमबार बिहानै नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले संसदीय दलको नेता नै परिवर्तन गरिदियो। प्रचण्डलाई उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले सघाउँदै आएकाले उनी नै मन्त्री बन्दै थिइन्।

उता सोमबार बिहानै एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भयो। यी दुवै नेताबीच आइतबार मात्र छलफल भएको थियो।

नेपाली कांग्रेसले सोमबार दिउँसो तीन बजे वर्तमान र पूर्व पदाधिकारीको बैठक राखेको छ। बैठकमा ओलीसँगको छलफलका विषय र सरकार निर्माणबारे विमर्शको तयारी छ।

असार १६, २०८१ सोमबार ०९:४८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।