संघीय संसदका दुवै सदनको बैठक बस्दै, गृहसहित अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने

संघीय संसदका दुवै सदनको बैठक बस्दै, गृहसहित अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने

काठमाडौं : संघीय संसद्अन्तर्गत दुवै सदनका बैठक आज बस्दैछ।

प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

उनका अनुसार आजको प्रतिनिधि सभा बैठकमा गृह, अर्थ र शिक्षा मन्त्रालय सम्बन्धी सांसदहरुले उठाएका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४औं वार्षिक प्रतिवेदन (२०७९ साउनदेखि २०८० असारसम्म) पेश गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल र पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन्।

त्यसैगरी राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ का विभिन्न शीर्षकहरुमध्ये वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ।

त्यसैगरी ऊर्जा, जलस्रो तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पाण्डेयले जानकारी दिए।

असार १६, २०८१ सोमबार ०७:२२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।