‘लामो बोल्छु भनेर लेखेर ल्याएको थिएँ, छोटो बोल्नु भन्नुभयो’

‘लामो बोल्छु भनेर लेखेर ल्याएको थिएँ, छोटो बोल्नु भन्नुभयो’

काठमाडौँ : एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी अतिथिहरू बोल्दै जानेक्रममा पालो आयो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको। देउवा अगाडि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बोलेका थिए।

अतिथिको रूपमा शुभकामना मन्तव्य राख्न कार्यक्रम सञ्चालक घनश्याम भुसालले देउवालाई बोलाउँदै भने’ नेपाली नेताबारे जानकारहरूलाई उहाँको बोल्ने स्वभावबारे केही भन्नै पर्दैन’ भन्दै पोडियमम बोलाएका थिए।

उनले यसो भन्दा हलमा हाँसो गुन्जियो। देउवा पहिलो रोहमा रहेका रवि लामिछानेको पछाडिबाट पोडियमतिर आउँदा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सहयोग गर्न खोजेकी थिइन् तर उनले पर्दैन भन्दै माइक भएतिर पुगे।

माइक अगाडि उभिएर देउवाले आज झन् धेरै बोलौला भनेर लेखेर ल्याएको थिएँ, थोरै बोल्नुहुन्छ भने’ भन्दै सहभागीलाई हँसाएका थिए। उनले एकीकृत समाजवादीलाई महाधिवेशनको सफलताको शुभकामना दिँदै भने’ माधव नेपाल सङ्घर्षशील नेता हुनुहुन्छ।‘

उनले लामो बोल्न लेखेर ल्याएको भने पनि छोटो शुभकामना मन्तव्य राखेर फर्किए।

असार १५, २०८१ आइतबार १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।