देउवा-ओली छलफलका तीन विषय : संविधान संशोधन, ०८४ मा माओवादीसँग गठबन्धन नगर्ने, आलोपालो प्रधानमन्त्री

देउवा-ओली छलफलका तीन विषय : संविधान संशोधन, ०८४ मा माओवादीसँग गठबन्धन नगर्ने, आलोपालो प्रधानमन्त्री

काठमाडौँ : एकाएक एमाले अध्यक्ष केपी ओलीको घरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमती आरजुसहित पुगे चमत्कार र उथलपुथल थेगो बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १५ मा आफैँले उथलपुथलको अनुभव गरे।

आफूसँग ३२ को जादुई अङ्क रहेको भन्दै उथलपुथल गरे आफूले मात्र गर्ने सार्वजनिक दाबी गर्ने प्रचण्डका लागि देउवा र ओलीबीचको दुई घण्टा लामो छलफल प्रिय हुने कुरै भएन।

जानकारस्रोतका अनुसार शनिवारै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई फोन गरेर दुवै नेताबीचको भेटवार्ताको प्रयोजनबारे जिज्ञासा राखेका थिए।

उत्तरमा ओलीले 'दही चिउरा खान बोलाएको' उत्तर दिएका थिए। ओलीको उत्तरबाट प्रचण्ड सन्तुष्ट हुन सकेनन्। आइतबार ओली प्रधानमन्त्री कार्यालय सिंहदरबारमै गएर प्रचण्डसँग छलफल गरे।

प्रचण्डले सत्ता समीकरण बदलेपछि शनिवार ओली र देउवाबीचको भेट सार्वजनिक भए पनि यो बिचमा उनीहरुबीच पटक-पटक छलफल भइसकेको छ। छलफल र भेटको वातावरण कांग्रेस नेता कृष्ण सिटौलाले बनाएपछि शनिवार बाहेक देउवा र ओलीबीच दुई पटक छलफल भइसकेको स्रोतले पुष्टि गरेको छ।

यस अगाडिका भेट तत्काल राजनीतिक सन्देश दिनेगरी सार्वजनिक गर्न आवश्यक नभएकाले दुवै पक्षले गोप्य नै राखे पनि प्रचण्ड जानकार थिए। शनिवार भने दुवै नेताले राजनीतिक सन्देश दिनेगरि भेट गरे अनि दुई घण्टासम्म एक्ला एक्लै छलफल गरे।

दुवै नेताको भेटलाई टिआरसी विधेयकमा लगेर जोडे पनि सत्ता सहकार्य केन्द्रीय रहेको लुकेको विषय हैन।

एकाएक धोका दिँदै समीकरण बदल्ने प्रचण्डको शैलीबाट न एमाले नेतृत्व खुसी छ न त कांग्रेस नै। दुवै दललाई उपयोग गर्दै तेस्रो दल भए पनि प्रचण्ड निरन्तर प्रधानमन्त्री भइरहेका छन्। उनी कांग्रेसलाई एमाले अनि एमालेलाई कांग्रेस देखाएर २०८४ सम्मै सरकारको नेतृत्व गर्ने रणनीतिमा रहेको लुकेको विषय पनि हैन।

प्रचण्डलाई सत्ताबाट सडकमा ल्याउने उपाय एमाले र कांग्रेसबीच सत्ता सहकार्य नै हो।

२०७९ मंसिर ४ को निर्वाचन लगत्तै एमालेतिर गएका प्रचण्डलाई दुखका साथ कांग्रेसले फर्काए पनि लामो समय टिकाउन सकेनन्। उनी एमालेतिर लागे। अहिले पनि ओली प्रचण्डसँग विश्वस्त हुन सकेका छैनन्। त्यसले पनि ओली र देउवाबीचको भेट र दुई घण्टाको मन्त्रणा केवल असार १५ मा दही चिउराको भोजमा मात्र सीमित छैन भन्ने प्रस्ट देखिन्छ नै।

तीन प्याकेजमा सहमतिको प्रयास

यी दुवै नेता निकट दुवै दलका केही नेताहरूसँग उकेराले गरेको अनौपचारिक कुराकानीमा दुवै नेताबीच पटक-पटक भएको छलफलले शनिवार सार्वजनिक रूपमा भेटघाट गर्ने माहौल बनाएको देखिन्छ।

एमाले अनि कांग्रेसका एक तहका नेता सत्ता सहकार्यबारे आन्तरिक छलफलमै थिए। उनीहरूले दुवै दल मिलेर सरकार चलाउनेबारे एक तहको खाका बनाएपछि नै ओली र देउवा भेटेको देखियो।

दुवै दलबीच चलिरहेको छलफलबारे जानकारस्रोतको दाबी अनुसार तत्काल सत्ता समीकरण बदल्ने पक्षमा दुवै दलका नेता देखिएका छैनन्।

उनीहरू संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नेदेखि लिएर २०८४ को निर्वाचनसम्मका विषयमा सहमति गर्ने पक्षमा छन्। कांग्रेस र एमाले दुवै दलभित्र पछिल्लो समय निर्वाचन प्रणालीबारे छलफल चलिरहेको छ।

समानुपातिक र प्रत्यक्ष निर्वाचित हुने वर्तमान प्रणालीका कारण कुनै दलले पनि सहजै बहुमत ल्याउन नसक्ने र माओवादी जस्ता तेस्रो दल नै बलियो हुने भन्दै मिश्रित निर्वाचन प्रणाली बदल्न र सांसद सङ्ख्या घटाउन दुवै दलभित्र सकारात्मक माहौल बन्दै गइरहेको छ।

कांग्रेसका नेताहरूले सार्वजनिक मञ्चहरूबाट जसरी निर्वाचन प्रणाली बदल्नेबारे चर्को बहस गरिरहेका छन् त्यसको तुलनामा एमालेका नेताहरू मौन समान देखिन्छन्। तर आन्तरिक रूपमा पार्टीमा भने बहस चलिरहेकै छ।

दुवै दलबीच संविधानमा रहेको निर्वाचन प्रणाली लगायतका अस्पष्ट विषयमा संशोधन गर्न औपचारिक संयन्त्र गठन गर्ने पक्षमा सहमति निकट पुगेको जानकारस्रोतको दाबी छ।

यसका लागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको संयोजकत्वमा संयन्त्र गठनबारे छलफल जारी रहेको देखियो।

निर्वाचनमा कहिले एमाले त कहिले कांग्रेससँग गठबन्धन गरेर माओवादीले वार्गेनिङतहको शक्ति आर्जन गरेकाले २०८४ को निर्वाचनमा माओवादीसँग सहकार्य नगरी एक्ला एक्लै प्रतिस्पर्धा गर्नुपर्ने विषयमा समेत दुवै दलबीच छलफल जारी रहेको देखियो।

मुख्यतः एमाले अध्यक्ष ओली सहकार्य गर्ने हो भने २०८४ को निर्वाचनसम्मको सहमति गरेर जानुपर्ने पक्षमा छन्।

तत्काल माओवादीलाई सत्ता बाहिर राख्ने गरीमात्र सरकारको नेतृत्व बदल्नुको अर्थ नहुने भन्दै ओलीले २०८४ मा एमाले र कांग्रेस दुवै दलले माओवादीसँग गठबन्धन नगर्नेबारे समेत प्रतिबद्ध हुनुपर्ने पक्षमा देखिएका छन्। यसमा देउवा नकारात्मक देखिएका छैनन्। तर सहमत पनि हुन सकेका छैनन्।

केही स्रोतले देउवाले ओलीलाई पहिलो कार्यकालको प्रधानमन्त्री र आफ्नो नेतृत्वमा निर्वाचन गर्नेगरि सत्ता सहकार्यको प्रस्ताव गरेको दाबी गरे पनि यसको पुष्टि भने हुन सकेन।

दुवै नेताबीच चलिरहेको संवादबारे जानकार केही स्रोतले अहिले कुन-कुन विषयमा सहकार्य गर्न सकिन्छ भन्नेमै छलफल केन्द्रित रहेको र संविधान संशोधन, २०८४ को निर्वाचन लगायतका विषयमा सहमति भएमा मात्र सरकार सञ्चालनको मोडालिटीबारे निष्कर्षसहितको छलफल हुने दाबी गरे।

'दुई विषयमा सहमति भएको अवस्थामा सरकारको नेतृत्व बदल्ने विषय त्यति जटिल विषय हैन' जानकारस्रोतले उकेरालाई भने' पहिला कसले सरकारको नेतृत्व गर्ने वा निर्वाचन कसको नेतृत्वमा हुने विषय छलफलमा प्रवेश गरेको छैन। संविधान संशोधन र २०८४ को निर्वाचनमा माओवादीसँग दुवै दलले गठबन्धन नगर्ने विषयमा सहमति भए प्रधानमन्त्रीको कार्यकालमा सहमति हुन अप्ठ्यारो देखिन्न।'

असार १५, २०८१ आइतबार १३:१८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।