देउवा-ओली भेटपछि आत्तियो माओवादी

देउवा-ओली भेटपछि आत्तियो माओवादी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो। 

यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग बालकोट पुगेर भेटका थिए। 
 
भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ। देउवाले सहकार्यका लागि प्रस्ताव गरेको बुझिएको छ। दुई शीर्ष नेताको भेटलाई लिएर माओवादीसहित राष्ट्रिय राजनीति फेरि तरंगित बनेको छ।

माओवादी नेतृत्वमा भने कांग्रेस र एमाले मिलेर सरकार परिवर्तन गर्न लागेको आशंका पैदा भएको छ। कांग्रेसका कतिपय नेताहरू एमाले र कांग्रेस मिलेर देशलाई अगाडि बढाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला देउवा र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यता ओली–देउवाको भेट भएपछि प्रधानमन्त्री प्रचण्डले ओलीलाई टेलिफोन गरि भेटवार्ताका विषयमा चासो राखेका थिए। 

सिंहदरबारमा भएको भेटमा प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल पुनर्गठन र समसामयिक विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। 

सत्ता गठबन्धनले राष्ट्रपति विदेश भ्रमणमा गएको र बजेट पारित हुन बाँकी रहेको भन्दै सरकारका मन्त्री हेरफेर गर्ने तयारी रोकेको थियो। बजेट पारित भएकाले सरकारमा जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समावेश गर्ने प्रचण्डको चाहना छ। 

असार १५, २०८१ आइतबार १३:१५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।