संसद् दिवस : निरन्तर घट्दैछ संसद्को गरिमा! तर, कसका कारण ?
काठमाडौं : आज संसद् दिवस अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन। मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो।
पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो। उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो।
संसद् दिवसको शुभकामना दिँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएकाले कानून निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्नुपर्ने बताए।
हाम्रो संसदीय अभ्यास ६५ वर्ष पुरानो हो। लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो। तर, पछिल्लो समय यस्तो भएको पाइँदैन। बरू संसद्को गरिमा र मर्यादा निरन्तर घटिरहेको छ।
त्यसो त नेपालको संसद्मा विगतमा पनि कुर्सी फुटाउने देखि सांसदहरूबीच कुटाकुट सम्मको स्थिति नआएको भने होइन। एमालेले बिना कारण ९ महिना संसद अवरोध गरेर संसदीय व्यवस्थामाथिनै प्रहार गरेको पनि हामीमाझ इतिहास छ।
०७४ यता बनेका सभामुखहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, देवराज घिमिरे पनि विवादरहीत हुन सकेका छैनन्। उनीहरूलाई अमुक पार्टीको रबर स्ट्याम्प भएको आरोप लागेकै छ। सभामुखहरू मर्यादित र निष्पक्ष नहुँदा पनि संसद्को ओज घटेको हो।
त्यसमा पनि पूर्वसभामुख सापकोटाले त सार्वजनिक रूपमै संसद्को गरिमा र ओज खस्कँदै गएको टिप्पणी गरेका थिए। संसद्मा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहीन, मर्यादाहीन भएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए।
सदनमा 'हाटा प्रवृत्ति' हाबी हुनु त नौलो विषय हुँदै होइन। संसद्को बैठक सुरु हुँदा सांसदहरूको उपस्थिति बाक्लै हुन्छ। छलफल अगाडि बढ्दैजाँदा कुर्सी रित्तो हुँदै जान्छ। केही सांसद आफ्नो बोल्ने पालो कुर्छन्, बोल्छन् अनि बाहिरिएर कुरेर बसेका मिडियाको क्यामरा अगाडि आदर्श छाँटेर बाटो लागेछन्। कयौंपटक गणपुरक संख्या नपुगेर बैठक नै स्थगित हुन्छ। सांसद भनेका त्यसका साधन र साध्य दुवै हुन तर उनीहरूको अनुपस्थिति र अनावश्यक समय व्यतीतकै कारण सदनको गरिमा घट्दो छ।
त्यसमा पनि अस्थिरताले नेपालको राजनीति नराम्रोसँग गाँजेको छ। अनि त्यसको सिधा प्रभाव संसद्मा छ। संविधान ले ५ वर्षको सरकार स्थायित्व प्रत्याभूत गरेतापनि सरकार र सदनको हैसियत अस्थिर छ। त्यसैको वरिपरि घुमेको छ- सरकार, सांसद, सदन र सभामुख पनि।
रक्सी खाएर संसद पस्छन् सांसदहरू
पछिल्लो समय नेपालको संसद यति विकृत बनेको छ कि, सांसदहरू रक्सी खाएर प्रतिनिधि सभा बैठकमा सहभागी हुन्छन्। गएको जेठ ३२ गतेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले सांसदहरू रक्सी खाएर संसद् बैठकमा सहभागी हुने गरेको खुलासा गरिन्।
उनले उक्त घटनाबारे विस्तृतमा नबताए पनि अघिल्लो वर्षको बजेट छलफलमा सहभागी हुन सांसदहरू रक्सी खाएर आएको खुलाइन्। रक्सी खाएर सदनमा आउने सांसदहरू को थिए भन्नेबारे नखुलाए पनि उनले पर्वतारोही निर्मल पुर्जाको विषयमा सदनमा अनावश्यक टीकाटिप्पणी गरेको व्यक्ति नै ती सांसद भएकोसम्म दाबी गरिन्।
त्यस बैठकमा रक्सीको छलफल गर्ने अर्का सांसद राजेन्द्र बजगाई पनि थिए। कांग्रेसका सांसद बजगाईले रक्सी खान पाउनेपर्ने भन्दै सदनमै बार खोल्नुपर्ने प्रस्ताब गरे।
'मैले एउटा जबाफ अथवा केही संशय पैदा गरेको कुरालाई इङ्गित गर्न चाहन्छु। अमेरिकाको डेमोक्रेटले आफ्नोबारेमा सोसलाइजेसन गर्दा रहेछन्। रिपब्लिकनहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन्। त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ। सभामुख महोदय, हाम्रो नयाँ बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसलाइजन गर्ने बार निर्माण गर्ने हो कि, ध्यानाकर्षण गराउन चाहेँ,' बजगाईले भने।
प्रतिनिधि सभामा रक्सीबारे उठेको यो बहस राष्ट्रिय सभासम्म पुग्यो। कांग्रेसका राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले रक्सी खाएर सदनमा आउने सांसदलाई ६ महिना निलम्बन गर्नुपर्ने माग राखे।
'प्रतिनिधि सभामा एकजना महिला मान्य सदस्यले मान्यहरू रक्सी खाएर आउनुहुन्छ भन्नुभयो। यसमा म भन्न चाहन्छु- कोही पुरुष वा महिला मान्य संसद्मै रक्सी खाएर आउनु भएको छ भने ६ महिनाको निलम्बन हुनुपर्छ भन्ने मेरो सुझाव छ,' उनले भने।
हाँसीमजाकको थलो बन्यो संसद
व्यवस्थापिका संसद्को जननी बेलायतको संसदमा पनि हाँसीमजाक नहुने भने होइन। तर, नेपालको सदनमा भने अस्वस्थ र भद्दा मजाक हुने गरेको छ। अझ पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीकी उपसभामुख इन्दिरा रानाले चलाएका दुइवटा संसद बैठक यस्तै खयालठट्टाले विवादमा आए।
गएको चैत ७ गते सभामुखको आशनमा बसेकी राना र कांग्रेस सांसद रामहरि खतिवडाबीच यस्तै खयालठट्टा चल्यो। बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा चलिरहेको छलफलमा भाग लिएका सांसद खतिवडाले अर्थमन्त्री खोजेपछि उनीहरूबीच हाँसीमजाकको परिस्थिति बनेको थियो।
खतिवडासँग ख्यालठट्टा गर्दै उपसभामुखले भनिन्, ‘हुन्छ पर्खिनुहुन्छ भने खाजाको पनि व्यवस्था गरौँला पछि।’
‘सभामुख अलि भोकाएजस्तो लाग्यो, त्यसको व्यवस्था गर्न हामी पनि तयार छौँ। बरु संसद् कोषबाटै निर्माण गर्नुपर्छ भने पनि तयार छौँ सभामुख महोदय,’ सांसद खतिवडाले जवाफ फर्काएका थिए।
त्यस्तै, जेठ २२ गतेको प्रतिनिधि सभा बैठकमा पनि बजेटमाथिको छलफलमा अर्थमन्त्रीको उपस्थिति खोज्दै अर्थमन्त्री वर्षमान पुन नआएसम्म नबोल्ने धारणा राखेका राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनको भनाइलाई उपसभामुख रानाले ‘टुक्का भन्दै गर्नु’ भन्दै खयालठट्टा गरेकी थिइन्।
तर, त्यसको भोलिपल्ट उक्त अभिव्यक्ति असंसदीय रहेको भन्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिको विरोध गरिन्।
‘लिङ्देनज्यूले रोष्ट्रममा उभिएर बजेटको विषयमाथिको छलफलमा अर्थमन्त्री चाहिन्छ भन्दा सभामुखको आसनबाट नै टुक्का भन्दै गर्नु भन्ने आवाज सुनियो। यो संसदीय मर्यादा भयो कि भएन ?’ उनले प्रश्न गरेकी थिइन्।
नयाँ सांसदले पनि निराश बनाए
गएको संसदीय निर्वाचनबाट नयाँ जोस-जाँगरसहित आएका युवा सांसदहरूले जनभावनाका सवाललाई सदनमा प्रखरित बनाउने अपेक्षा थियो। नयाँ अनुहार संसदमा छिरिरहँदा जिम्मेवारी निकै ठूलो थियो। छनलाई त प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी २७ वर्षीया सोबिता गौतमदेखि लिएर ८० वर्षीय राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसम्म रहेका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी २५ वर्षीया निशा डाँगीदेखि ८१ वर्ष लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबरासम्म छन्।
तर, जनभावनाको पक्षमा बोल्ने सांसद भने औंलामा गन्यसरी छन्। नेमकिपाका संसद प्रेम सुवालले यदाकदा जनपक्षीय सवालमा आवाज मुखरित गर्न खोजे पनि उनको एकल आवाज नीरिह बनेको छ। अपेक्षा गरिएका नयाँ दलका नयाँ सांसद राजनीतिक खिचातानीमै व्यस्त छन्। सदनमा देखिने छेउ न टुप्पोको भाषण, आत्मविश्वासको कमी, उपस्थिति, अध्ययनशीलताको कमीले उनीहरूको मूल्यांकन भइसकेकै छ।
यसबीचमा नयाँ आएका सांसदले सडकमा चिच्याएजस्तै संसदमा आफ्नो गरिमा राखेर बोल्न सहज छैन भनेर प्रमाणित गरिदिए। विगतमा संसदमा हुँदै आएका विकृतिबाट पाठ सिक्नुपर्नेमा अनुशासनमा रहेर मर्यादित बोली बोल्नसमेत सकेका छैनन् उनीहरूले। सनास्दीय प्रणालीका जानकारहरू संसद्मा नभएको कारण पनि संसद्को वजन घट्दै गएको विश्लेषकहरूको बुझाइ छ।
असार १६, २०८१ आइतबार १२:१९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।