१७ वर्षपछि भारतलाई विश्वकप जिताएका विराट कोहलीले लिए टी-२० आईबाट सन्यास

१७ वर्षपछि भारतलाई विश्वकप जिताएका विराट कोहलीले लिए टी-२० आईबाट सन्यास

काठमाडौं : भारतका ओपनर ब्याटर विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

भारतले शनिबार आईसीसी टी-२० विश्वकपको उपाधि जितेपछि विराटले सन्यासको घोषणा गरे।

'यो मेरो अन्तिम टी-२० विश्वकप थियो र हामीले चाहेजस्तै कुरा हासिल गर्न सफल भएका छौँ,' जितपछि विराटले भने, 'यो उत्कृष्ट खेल थियो। टिमलाई सबैभन्दा धेरै आवश्यक रहेको बेला आफ्नो कर्तव्य पूरा गर्न सकेकोमा निकै खुसी छु। भारतका लागि यो मेरो अन्तिम टी-२० खेल हो। अब नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्ने समय हो।'

शनिबार भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै १७ वर्षपछि विश्वकपको उपाधि जितेको हो। भारतले दोस्रो पटक टी-२० विश्वकप जित्यो। उनले भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जिते। 

टी-२० का प्रतियोगिता अवधिभर कमजोर प्रदर्शनका कारण कोहली आलोचनाको केन्द्रमा रहेपनि अन्तमा भारतलाई फाइनल जिताउन विराटकै योगदान महत्त्वपूर्ण रह्यो।

भारतबाट विराटले १२५ अन्तर्राष्ट्रिय टी-२० क्रिकेट खेलेका छन्। जहाँ उनले १ शतक र ३८ अर्धशतकसहित कुल ४ हजार १ सय ८८ रन बनाए। उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी-२० आईमा भारतबाट डेब्यू गरेका थिए।

 उनी टी-२० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने एक्लो खेलाडी हुन्। 

असार १५, २०८१ आइतबार ०८:४२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।