दुई विश्वकप जित्ने एक्लो भारतीय खेलाडी बनेका रोहितले लिए टी-२० आईबाट सन्यास

दुई विश्वकप जित्ने एक्लो भारतीय खेलाडी बनेका रोहितले लिए टी-२० आईबाट सन्यास

काठमाडौं : भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन्। 

शनिबार राति वेस्टइन्डिजमा भारतलाई १७ वर्षपछि टी-२० विश्वकपको उपाधि दिलाएका कप्तान रोहितले सन्यासको घोषणा गरेका हुन्। 
त्यसअघि विराट कोहलीले पनि टी-२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए।

भारतीय कप्तान रोहित शर्माले खेलपछिको प्रस्तुति कार्यक्रममा आफ्नो सन्यासको बारेमा केही भनेनन्। तर, खेलपछि पत्रकार सम्मेलनमा रोहितले  सन्यासको घोषणा गरेका थिए। 

विराट कोहलीले जस्तै उनले पनि यो टीम इण्डियाका लागि उनको अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेल भएको बताए। अर्थात् अब उनले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिनेछन्। तर, रोहितले एकदिवसीय र टेस्टमा भारतका लागि खेल्ने छन्।

पत्रकार सम्मेलनमा रोहित शर्माले विराट कोहलीको टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएको प्रश्नमा भने, ‘यो मेरो पनि अन्तिम टी-२० अन्तर्राष्ट्रिय पनि थियो। यो ढाँचालाई अलविदा भन्नको लागि यो राम्रो समय हो। यो मैले चाहेको थियो, मलाई कप चाहिएको थियो र मैले यो पाएँ। यसबाहेक रोहितले यो ट्रफी राहुल द्रविडलाई समर्पण गरेको बताए।  

रोहित शर्मा हाल सबै टी-२० विश्वकप खेल्ने एकमात्र भारतीय खेलाडी हुन्। त्यसअघि भारतले सन् २००७ को पहिलो संस्करणमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो। त्यो सयम रोहित भारतको युवा स्पिन अलराउण्डरको रुपमा टोलीमा थिए। सन् २००७ को फाइनलमा रोहितले पाकिस्तानविरुद्ध ३० रनको अविजित इनिङ खेलेका थिए। उनले २००७ सेप्टेम्बर १९ मा इंग्ल्यान्डविरुद्ध टी-२० आईमा डेब्यू गरेका थिए। 

भारतले २००७ को विश्वकप जित्दा वर्तमान टोलीमा भएका रोहित एकमात्रै सदस्य हुन्। त्यसपछि अब २०२४ मा उनको कप्तानीमा टोलीले यो प्रतियोगिता जितेको हो।

रोहित शर्माले आफ्नो करियरमा कुल १५९ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ४२३१ रन बनाएका छन्। यो फर्म्याटमा उनको नाममा सर्वाधिक ५ शतकको कीर्तिमान पनि छ। 

रोहितले टी-२० अन्तर्राष्ट्रियमा कुल ३२ अर्धशतक पनि बनाएका छन्। अब उनले यही ऐतिहासिक कीर्तिमानसँगै आफ्नो यात्रा अन्त्य गर्ने निर्णय गरेका छन्।

असार १५, २०८१ आइतबार ०८:०८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।