प्रतियोगिताभर आलोचित कोहली फाइनलमा चम्कँदा टी-२० वर्ल्डकपको उपाधि भारतलाई

प्रतियोगिताभर आलोचित कोहली फाइनलमा चम्कँदा टी-२० वर्ल्डकपको उपाधि भारतलाई

काठमाडौँ : साउथ अफ्रिकालाई पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको छ। भारतले दिएको १७७ को स्कोर पूरा गर्न सहज बनाइसकेको दक्षिण अफ्रिकाका ब्याटर अन्तिम पाँच ओभरमा सम्हालिन नसक्दा सात रनले उपाधि गुमाउन पुगे।

टिमलाई सेमिफाइनल र फाइनलमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका रोहित शर्मा फाइनलमा टिक्न नसकी पाँच बलमा नौ रन बनाएर आउट भए पनि विराट कोहलीले खेल सम्हाल्दै ५९ बलमा ७६ रन बनाएर दक्षिण अफ्रिकालाई चुनौतीपूर्ण रनको लक्ष्य दिएका थिए।

अक्षर पटेलले ३१ बलमा ४७ रन अनि शिवम् दुवेले १६ बलमा २७ रन बनाएर स्कोर १ सय ७७ पुर्याएका थिए।

दक्षिण अफ्रिकाको स्कोर पनि कमजोर थिएन। भारतले दिएको चुनौती सहजै पूरा गर्न सक्ने अवस्थामा पुगेका उनीहरू अन्तिम ओभरमा टिक्न सकेनन् र उपाधि हातमा आउँदा आउँदै सात रनले गुमाउन पुगे।

टी-२० का प्रतियोगिता अवधिभर कमजोर प्रदर्शनका कारण कोहली आलोचनाको केन्द्रमा रहे। अन्तमा भारतलाई फाइनल जिताउन उनकै योगदान महत्त्वपूर्ण रह्यो। भारतले दोस्रो पटक टी-२० विश्वकप जित्यो। ११ वर्षदेखि भारतले आइसिसीको कुनै उपाधि जित्न सकेको थिएन। 

असार १४, २०८१ शनिबार २३:५९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।