राजेश हमालले होस्ट गर्ने एग्रिकल्चर गेम रियालिटी शो ‘र’को आवेदन खुल्यो

राजेश हमालले होस्ट गर्ने एग्रिकल्चर गेम रियालिटी शो ‘र’को आवेदन खुल्यो

काठमाडौं : विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटी शो ‘र’को प्रतिस्पर्धाका लागि आवेदन खुला गरिएको छ।

शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगिताको आवेदन खुला गरिएको हो।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको होष्ट महानायक राजेश हमाल रहेका छन्। व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन्। जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ। 

निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्वसचिव डा.योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा.नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन्।

यस कार्यक्रम कृषि उधमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेसाको रुपमा स्थापित गरि किसानलाई सम्मानजनक पहिचान दिने उद्देश्य अनुरूप प्रस्तुत गरिएको बताइएको छ। त्यस्तै, कार्यक्रमको अर्को उद्देश्य कृषिको महत्वलाई उजागर गर्दै युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रुपमा प्रस्तुत गर्नु हो।

कृषक र कृषि प्राविधिक यस शोमा प्रतियोगी रहने छन् जसमा दिगो र नविन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिनेछ।

राष्ट्रिय धान दिवसको अवसरमा गरिएको सो कार्यक्रममा प्रमुख अतिथि पूर्वकृषिमन्त्री छविलाल विश्वकर्मा, महानायक राजेश हमाल, पूर्वसचिव डा.योगेन्द्रकुमार कार्कीलगायत विशिष्ट व्यक्तित्वहरूको साथमा आवेदन फर्म खुल्ला र रोपाई उत्सव भएको थियो।

असार १४, २०८१ शनिबार १७:२१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।