कम खर्चमा महाधिवेशन सम्पन्न गर्नेगरी अगाडि बढेका छौं : अध्यक्ष नेपाल

कम खर्चमा महाधिवेशन सम्पन्न गर्नेगरी अगाडि बढेका छौं : अध्यक्ष नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प लिएर अगाडि बढेको बताएका छन्। 

शनिबार एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा गुटका कारण कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको भन्दै अब एकताका साथ अगाडि बढ्ने बताए। 

उनले भने, ‘गुटबन्दी नहोस्, नेताहरु मिलेर अगाडि बढ्नुहोस्, गुटले धेरै ठूलो क्षति पुर्याएको छ। विगतमा पनि गुटले गर्दा कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको थियो। त्यसैले आउँदो महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्पका साथ अगाडि बढेका छौं। कम खर्चमा सहज तरिकाले सम्पन्न हुने हिसाबले अगाडि बढेका छौं।’ 

उनले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाउन र समाजवादको दिशामा अघि बढाउन आवश्यकता रहेको बताए। 

उनले भने, ‘जोसँग आँट र संकल्प छैन त्यसले केही गर्न सक्दैन। यस अर्थमा हामीले नेपालको राजनीतिमा हाम्रो विशिष्ट स्थानलाई स्थापित गर्नुपर्ने आवश्यकता छ। अगाडि बढ्ने क्रममा कमीकमजोरीहरू हुन्छन्। त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता पर्छ। यो नेपालको राजनीतिमा र कम्युनिष्ट आन्दोलनमा यो दक्षिणपन्थी अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको छ।’ 

एकीकृत समाजवादी घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने क्षमता भएको पार्टी भन्दै यसले प्रत्येक चुनौतीको सफलताका साथ सामना गर्दै आएको उनको भनाइ छ।  

उनले भने, ‘नेपाली समाजमा ठूलठूला उथलपुथलहरू भएका छन्। प्रत्येक घटनामा अत्यन्तै महत्वपूर्ण अग्रगामी भूमिका खेलेका छौं। सहभागी मात्र होइन, नेतृत्व गरेका छौं। नेकपा एकीकृत समाजवादी अन्यजस्तो साधारण पार्टीको रुपमा होइन, त्यतिकै घटना क्रममा सहभागी हुने पार्टी होइन। घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने त्यो क्षमताको साथै पार्टी अगाडि बढ्दै आएको छ।’  

असार १४, २०८१ शनिबार १५:०७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।