भारत र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षाको सम्भावना, के छ आईसीसीको नियम?

भारत र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षाको सम्भावना, के छ आईसीसीको नियम?

काठमाडौं : शनिबार बेलुकी बार्बाडोसमा भारत र दक्षिण अफ्रिकाबीच हुने टी-२० विश्वकपको फाइनल खेलमा वर्षाको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान निकायले पानी पर्ने भविष्यवाणी गरेका छन्। मौसमविद्ले केही समय वर्षा हुन सक्ने बताएका छन्।

विहान ४ बजेदेखि ९ बजेसम्म ५० प्रतिशत आर्द्रताको सम्भावना रहेको मौसम पूर्वानुमान गर्ने निकायले जनाएको छ।

तर, बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म ३० प्रतिशतसम्म घट्न सक्छ। तर, फेरि बढ्ने सम्भावना छ। आर्द्रता बढ्दै जाँदा वर्षाको सम्भावना पनि बढ्छ।

नियमले के भन्छ?
यदि वर्षा भयो भने, खेल पूरा गर्न थप १९० मिनेटको अतिरिक्त समय राखिएको छ। विजेता बन्नका लागि एउटा टोलीले कम्तिमा १० ओभर ब्याटिङ गर्नुपर्नेछ।

अतिरिक्त समयमा पनि दश ओभरको ब्याटिङ सम्भव भएन भने आइतबार खेल हुनेछ। आईसीसीले फाइनलका लागि आइतबार रिजर्भ डे राखेको छ।

आइतबारको खेल शनिबार जहाँ अन्त्य भएको हो, त्यहि स्थानबाट सुरु हुनेछ।

तर, आइतबार पनि वर्षाको सम्भावना २० प्रतिशत छ। रिजर्भ डेमा पनि खेलको नतिजा नआएमा दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिनेछ।

यदि खेल बराबरी भएमा सुपर ओभरमा निर्णय हुनेछ। सुपर ओभरमा पनि बराबरी भएमा अर्को सुपर ओभर हुनेछ। खेलको निर्णय नभएसम्म सुपरओभर दिइनेछ।

वर्षाका कारण सुपर ओभर हुन नसके दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिनेछ।

असार १४, २०८१ शनिबार १४:१९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।