पार्टीभित्र गुटबन्दी नभएको नेता खनालको दाबी

पार्टीभित्र गुटबन्दी नभएको नेता खनालको दाबी

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र गुटबन्दी लागू नहुने दाबी गरेका छन्। आफूहरूले पार्टीभित्र गुटबन्दी नचाहेको र पार्टीलाई आपसी छलफल एवं वहसमार्फत अघि बढाउन प्रतिबद्ध रहेको बताए।

शनिबार पार्टीको दशौं महाधिवेशन सम्बन्धमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता खनालले जसको नीति उसकै नेतृत्व भन्ने मूल आधारमा पार्टी सञ्चालन गर्ने बताए। साथै एकीकृत समाजवादीले पुरानै पदाधिकारी संख्यालाई निरन्तरता दिएको प्रस्ट्याए।

‘पार्टी संगठन भनेकै कमरेडहरूलाई व्यवस्थापन गर्ने संरचना हो, यो स्वभाविक हो। पार्टीको सातौं महाधिवेशनसम्म एउटा नेता भए आठौंदेखि विभिन्न पदहरु सिर्जना गर्यौं। त्यही पदको आधारमा व्यवस्थापन गर्दै आएको हो। विचार र व्यवस्थापन दुवैको सन्तुलन मिलाएर हामी अगाडि बढ्नुपर्ने हुन्छ। पार्टी सुरु गर्दा पनि २१ वटै पदाधिकारी थिए। अहिले पनि त्यसैलाई कायम गरौं भन्ने सहमति भएको हो, धेरै बढाएको भन्ने कुरा होइन’, खनालले भने।

तर, उनले कसलाई कुन पद दिने भन्ने सन्दर्भमा आन्तरिक छलफल गरिरहेकाले चाँडै सो विषय टुंग्याउने जानकारी दिए। यस्तै उनले पार्टीभित्र गुटबन्दी नहुने बताए। आफूलाई गुटबन्दी भन्ने थाहै नभएको चर्चा गर्दै नेता खनालले पार्टीभित्र गुटबन्दी नहुने दाबी गरेका हुन्।

‘जहाँसम्म गुटगत भेलाका कुरा छन् मैले त्यो गुटबन्दी भन्ने चिज जान्दै जान्दिन। गरेँ भने पनि जान्दिन। उहाँहरूले नि गर्नुभएको जस्तो मलाई लाग्दैन। हामी नेताहरूसँग विभिन्न कमरेडहरू आउनुहुन्छ, कहिले यता कहिले उता छलफल गर्छौं। कहिले होटलमा, कहिले रेस्टुरेन्टमा होला, कहिले घरमा यस्ता छलफलहरू भइरहन्छ। यो गुटबन्दी होइन एक आपसको छलफलको कुरा हो,’ उनले थपे, ‘गुटबन्दी नै साँच्चै भएको छ भने चाँही त्यो गलत कुरा हो। पार्टीले त्यसको विरोध गर्छ।’

यस्तै, उनले पार्टीभित्र गुटबन्दी आफूहरुले नचाहेको उल्लेख गर्दै त्यसका विरुद्ध पार्टी दृढ प्रतिबद्ध रहेको बताए। खनालले पार्टीको महाधिवेशनले नयाँ वैचारिक भूकम्प सिर्जना समेत जिकिर गरेका छन्।

‘नेपालको समाजवादी कार्यक्रमलाई समेटेर महाधिवेशनले नयाँ वैचारिक भूकम्प सिर्जना गर्छ, जसले नेपालको सम्रग कम्युनिष्ट आन्दोलनलाई रूपान्तरण गर्ने, परिवर्तन गर्ने र समाजवादलाई सुनिश्चितता गर्दछ’, उनले भने।

असार १४, २०८१ शनिबार १३:४१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।