कोपा अमेरिका : पाराग्वेमाथि ब्राजिलको ४-१ को शानदार जित

कोपा अमेरिका : पाराग्वेमाथि ब्राजिलको ४-१ को शानदार जित

काठमाडौं : कोपा अमेरिकाको समूह ‘डी’को खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ।

शनिबार विहान एलिगेन्ट स्टेडियममा भएको समूह चरणको खेलमा पाराग्वेमाथि ब्राजिल हावी भएको हो।

ब्राजिलका लागि पहिलो हाफमै तीन गोल गरेको थियो। उसका लागि साभियोले ४३औं मिनेटमा गोल गर्दा भिनिसियस जुनियरले खेलको ३४औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए।

दोस्रो हाफको सुरुवाती क्षणमै पाराग्वेले एक गोल फर्काए पनि त्यसपछि भने सोही लयलाई कायम राख्न सकेन। पाराग्वेका लागि ४८औं मिनेटमा ओमार अल्डेरिटले गोल गरेका थिए।

त्यसपछि खेलको ६५औं मिनेटमा ब्राजिलका लुकास पाक्यूटाले पेनाल्टीमार्फत गोल गर्दै जित पक्का गरे। ८१औं मिनेटमा पाराग्वेका एन्ड्रेस क्यूबास रेडकार्ड पाएर बाहिरिँदा टोली १० खेलाडीमा समेटियो। यद्यपि त्यसको फाइदा ब्राजिलले उठाउन सकेन।

जितसँगै ब्राजिल दुई खेलमा चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ। पराजित पाराग्वे दुई खेलमा अंकविहीन हुँदै पुच्छारमा छ। पहिलो स्थानमा छ अंकसहित कोलम्बिया हुँदा तेस्रो स्थानमा कोस्टारिका छ।

असार १४, २०८१ शनिबार ११:३१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।