पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गरेको भन्दै रास्वपाले सोध्यो महामन्त्रीलाई स्पष्टीकरण

पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गरेको भन्दै रास्वपाले सोध्यो महामन्त्रीलाई स्पष्टीकरण

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ।

पार्टीको समीक्षा प्रतिवेदन अनुमति नलिई सार्वजनिक गरेको भन्दै शुक्रबार स्पष्टीकरण सोधेको रास्वपा स्रोतले बतायो।

'उहाँलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो,' रास्वपाका सह-प्रवक्ता प्रतिभा रावलले भनिन्।

बुधबार गएको उपनिर्वाचनपछि समीक्षा यात्रामा देश-दौडाहा गरेका महामन्त्री ढकालले पार्टीको वर्तमान अवस्थाबारे एक प्रतिवेदन तयार पार्दै रास्वपाको जनमत निकै खस्किएको विश्लेषण गरेका थिए। सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएपछि आफूमाथि कारबाही हुनसक्ने ढकाल आफैंले बताएका थिए। 

प्रतिवेदनमा महामन्त्री ढकालले पार्टी अघि बढ्नै नसक्ने अवस्थामा पुगेको र यदि यस्तै अवस्था रहे अर्को चुनावसम्म राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने गरी उल्लेख गरेका छन्। रास्वपा यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने उनको प्रतिवेदनमा उल्लेख छ। 

यसैबीच, स्पष्टीकरणबारे प्रतिक्रिया दिँदै महामन्त्री ढकालले आफूलाई पार्टी सभापति रवि लामिछाने बाहेकले स्पष्टीकरण सोध्न नपाउने बताए। 

‘भोलि वडाका सभापतिहरू स्पष्टीकरण पत्र बोकेर आउलान्। पलिकाका सभापतिले पत्र थमाउलान्, महामन्त्रीले सबैलाई स्पष्टीकरण दिन्छ,’ ढकालले भने, ‘मलाई पार्टी सभापति रवि लामिछानेबाहेकले स्पष्टीकरण सोध्ने अधिकार छैन।’ 

बिहीबार रास्वपाका सह-प्रवक्ता तथा सांसद मनिष झाले भने महामन्त्री ढकालमाथि कारबाही नहुने बताएका थिए।

असार १३, २०८१ शुक्रबार २०:४६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।