'हामीले एमालेबाट विद्रोह नगरेको भए अहिले गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्यो'

'हामीले एमालेबाट विद्रोह नगरेको भए अहिले गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्यो'

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान जोगाउन विद्रोहबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन्। 

आज ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रममा उनले विद्रोह गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन र कम्युनिस्ट आन्दोलनलाई जोगाउन विद्रोहबाहेक विकल्प नभएको बताए। 

उनले भने, ‘विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन। विद्रोह गरेर संविधान बचायौँ हामीले। विद्रोह गरेर हामीले राजनीतिक स्थिरता कायम गर्यौँ। विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह गर्यौँ। अत्यन्तै सही काम गर्यौँ। कम्युनिस्ट आन्दोलनलाई जोगायौँ। गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ।’

उनले विद्रोह गरेर न्यायोचित काम गरेको भन्दै पार्टीको कामबाट समाजमा भूमिकालाई स्थापित गरेको बताए। 

उनले भने, ‘नयाँ पार्टी निर्माण गरेर, विद्रोह गरेर न्यायोचित काम गर्यौँ। नभए हामी हराइसकेका हुन्थ्यौँ। हामीले गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्यो। आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो। हामीले ती सबै कुराहरूलाई स्वीकार गरेनौँ। हामीले समर्पण गरेनौँ। धेरै मान्छेलाई निराश हुनबाट जोगायौँ। कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौँ। हाम्रो भूमिकालाई स्थापित गरेका छौँ।’

असार १३, २०८१ शुक्रबार १९:२०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।