'५२ प्रतिशत विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो?'

'५२ प्रतिशत विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो?'

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको राज्यको असफलता भएको दाबी गरेका छन्। सरकारको असफलता एसईई नतिजामा देखिएको उनको भनाइ छ। 

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले गुणस्तरीय शिक्षाको अभावमा नतिजामा विद्यार्थीले अयोग्य भएको ट्याग भिर्नुपरेको बताए।

'पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरू गरियो। केही वर्ष अभ्यास गरे पनि शिक्षाको गुणस्तर कायम गर्न सकेन। यो वर्षदेखि ग्रेडिङ नन् ग्रेडिङ भनेर हामीले बुझ्ने भाषामा पास फेल प्रणाली विकास गरियो,' उनले भने, 'यो प्रणालीमा ५२ प्रतिशत विद्यार्थी ग्रेडिङ भित्र परेनन्। ५२ प्रतिशत विद्यार्थी फेल भए यी विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो?'

उनले १० वर्षसम्म एउटा विषय पठाउँदा ३५ नम्बर ल्याउन नसक्ने कस्तो शिक्षा प्रणाली विकास गरिएछ भन्ने प्रश्न उठाए। 

'१० वर्ष पढाएर एउटा विषयमा ३५ नम्बर ल्याउन नसक्ने स्थिति कसरी आयो? गणित ३८, ३१ प्रतिशत अंग्रेजी र ३० प्रतिशत विज्ञान विषयमा अनुत्तीर्ण छन्,' उनले भने, '१० वर्ष पढाएर ३५ नम्बर ल्याउन नसक्नेले कसरी गुणस्तरीय हुन्छ? अयोग्य उत्पादन राज्यले गर्न मिल्छ?'

सांसद पौडेलले नतिजा प्रणालीको कारण नभएको भन्दै शिक्षामा गुणस्तरीयता नभएको कारण भएको जिकिर गरे। 

असार १३, २०८१ शुक्रबार १६:०६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।