मदन र वीपीका नाममा कार्यक्रम नगरौं भन्दा एमाले-कांग्रेसका जनप्रतिनिधि बैठक रोकेर जानुभयो : बालेन

मदन र वीपीका नाममा कार्यक्रम नगरौं भन्दा एमाले-कांग्रेसका जनप्रतिनिधि बैठक रोकेर जानुभयो : बालेन

काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले मदन भण्डारी र वीपी कोइरालाको नाममा कार्यक्रम नगरौं भन्दा एमाले र कांग्रेसका जनप्रतिनिधिहरू नगरसभाको बैठक रोकेको आरोप लगाएका छन्।

शुक्रबार समाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले मदन र वीपीको भन्दा चार सेनानी सहीदहरूको नाममा कार्यक्रम गरौं भन्दा दुई पार्टीका जनप्रतिनिधिहरूले बैठक स्थगित गरेको बताएका हुन्।

विपी र मदनको नाममा करोडौंको कार्यक्रम गर्न प्रस्ताव आउँदा आफूले त्योभन्दा पनि चार स्वतन्त्र सेनानी शहीदहरू: शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको नाममा गरौं भन्दा जनप्रतिनिधिले नगरसभाको बैठकनै रोकेर हिँडेको बताए।

शाहले कांग्रेस र एमालेबाट निर्वाचित महानगरका जनप्रतिनिधिले चार शहीद भन्दापनि विपी कोइराला र मदन भण्डारीको योगदान ठूलो देखेको ब्यङ्ग्य गरेका छन्।

‘एमाले कांग्रेस विपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौँ भन्नुभयो। मैले चार स्वतन्त्र सेनानी शहीदहरू: शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठको नाममा गरौं भनेँ’ बालेनले फेसबुकमा लेखेका छन्, ‘सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस-एमालेको नेताहरूको योगदान धेरै देख्नुभयो होला। त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो।’

पछिल्लो समय मेयर शाह र कांग्रेस-एमालेबाट निर्वाचित जनप्रतिनिधहरूबीचको विवाद हुँदा दूरी बढिरहेको छ।

असार १३, २०८१ शुक्रबार १२:४३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।