देशमा केही पनि भएन भन्ने भाष्य गलत छ, तर जनअपेक्षा अनुसार काम पनि भएको छैन : प्रधानमन्त्री

देशमा केही पनि भएन भन्ने भाष्य गलत छ, तर जनअपेक्षा अनुसार काम पनि भएको छैन : प्रधानमन्त्री

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएको बताएका छन्। यद्यपि जनताको अपेक्षा अनुसार काम गर्न भने नसकिएको उनले स्वीकारे।

उनले भने, ‘अहिले जनतामा देखिएको नकारात्मक भावना चिर्न सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ। कुनैपनि कालखण्डको कुरा गर्दा देशमा केही भएन भन्ने भाष्य गलत हो। धेरै भएको छ। तर, जनताको अपेक्षा अनुसार अझै भएको छैन। त्यो पनि सत्य हो।’

शुक्रबार जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्दत रहेको उल्लेख गरे।

उनले कम्युनिष्टहरुले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक रहेको बताए।

उनले थपे, ‘नकारात्मक कुरा गरेर रमाउने मात्र प्रवृत्ति कहिँ न कहिँ केहि भएको छैन भन्ने भाष्यलाई अगाडि बढाउन उद्दत छ। कम्युनिष्टहरूले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक छ।’

कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको प्रधानमन्त्री दाहालको भनाइ छ। उनले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको दाबी गरे।

असार १३, २०८१ शुक्रबार १२:०१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।