अशोकराज सिग्देलको नागरिकताको प्रश्न उठाउँदै सांसद शाहले भने, ‘सेनाको छवि निश्कलंक हुनुपर्छ’

अशोकराज सिग्देलको नागरिकताको प्रश्न उठाउँदै सांसद शाहले भने, ‘सेनाको छवि निश्कलंक हुनुपर्छ’

काठमाडौं : आम जनता पार्टीका सांसद् प्रभु शाहले नेपाली सेनाको छवि निश्कलंक हुनुपर्ने बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहले प्रधानसेनापतिको लाइनमा रहेका नेपाली सेनाका रथी अशोकराज सिग्देलको विषयमा दुईवटा नागरिकता रहेको भन्दै मिडियामा प्रमाणसहितका समाचार आएपछि यस्तो बताएका हुन्।

‘सेनाका विषयमा विवादित विषयहरू बाहिर आइरहँदा सम्बन्धित निकायले स्पष्ट किन गर्दैन,’ उनले भने, ‘देशको रक्षा मन्त्रीले यस विषयमा जवाफ दिनुपर्छ। देशको सम्मानित संस्थामाथि प्रश्न उठ्दा रक्षा मन्त्री चुप लागेर बस्न मिल्दैन।’

प्रधानसेनापतिले यस विषयको नैतिक जिम्मेवारी लिनुपर्ने र त्यसको जवाफ दिनुपर्ने माग समेत उनले राखेका छन्।

उनले थपे, ‘सेनापतिले बोलेको विषयमा आजका पत्रपत्रिकाहरूले प्रमाणसहितको खण्डन प्रकाशित गरिरहँदा सेनापतिले केही बोल्नुपर्छ कि पर्दैन? सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन?’

सिग्देलको नागरिकताकाे विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रक्षा मन्त्रालयलाई पत्र काटिसकेको छ। सोही विषयमा संसदीय सुनुवाइ समितिमा समेत प्रश्न उठेको थियो।

असार १३, २०८१ शुक्रबार ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।