अमेरिकी राष्ट्रपति चुनाव : बाइडेन र ट्रम्पबीच पहिलो पटक ९० मिनेटसम्म टेलिभिजनमा ‘लाइभ डिबेट’, कसले के भने?

अमेरिकी राष्ट्रपति चुनाव : बाइडेन र ट्रम्पबीच पहिलो पटक ९० मिनेटसम्म टेलिभिजनमा ‘लाइभ डिबेट’, कसले के भने?

एजेन्सी : नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनअघि अमेरिकाको जर्जियास्थित एटलान्टामा शुक्रबार पहिलो प्रेसिडेन्टियल बहस भयो।

यो बहस वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच ९० मिनेटसम्म चल्यो।

चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन्। बहसको सुरुवात अर्थतन्त्रो विषयबाट छेडियो।

‘धनीलाई फाइदा भयो’
मुद्रास्फीतिको मुद्दा उठ्ने बित्तिकै बाइडेनले ट्रम्पले बिग्रँदै गएको अर्थतन्त्र हस्तान्तरण गरेको आरोप लगाउँदै सबै कुरा आफूहरूले ठिक गर्दै लगेको बताए।

उनले ट्रम्पले आफ्नो शासनकालमा केही नगरेको भन्दै धेरै पटक ‘डिसअर्डर’ शब्दको प्रयोग गरे। बाइडेनले ट्रम्पले धनीहरूलाई फाइदा पुर्याउने अर्थव्यवस्था बनाएको आरोप लगाए।

जसको जवाफमा ट्रम्पले आफ्नो शासनकालमा अमेरिकाको अर्थतन्त्र ‘महान’ रहेको दाबी गरे। उनले मतदाताका लागि इतिहासकै सबैभन्दा ठूलो कर कटौती गरेको समेत बताए।

अफगानिस्तान र कोरोनामा चर्को बहस
छलफलमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने र कोरोना महामारीका बेला सरकारको दृष्टिकोणका बारेमा पनि छलफल भयो।

राष्ट्रपति बाइडेनले ट्रम्प प्रशासनको समयमा अमेरिकी सेना अफगानिस्तानमा लडिरहेको स्मरण गराए। जसमा ट्रम्पले अफगानिस्तानबाट गर्व र शक्त्तिका साथ बाहिरिने योजना रहेको बताए।

उनले भने, ‘जब अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिए, त्यो देशको इतिहासको सबैभन्दा लाजमर्दो क्षण थियो।’

कोरोना महामारीको बारेमा बाइडेनले त्यतिबेला एकदमै कूव्यवस्था लागू भएको प्रतिक्रिया दिए। त्यतिबेला ट्रम्प अमेरिकी राष्ट्रपति थिए।

बाइडेनको आरोपको खण्डन गर्दै ट्रम्पले भने, ‘कोरोना महामारीले असर भएपछि हामीले आर्थिक मन्दी नहोस् भनेर एकदमै विचार गरेर आवश्यकताअनुसार मात्र पैसा खर्च गर्यौं। त्यतिबेलाको हिसाबले सबैकुरा उत्कृष्ट थियो।’

सैनिकको मृत्युमा बाइडेनको बयान
बहसमा जो बाइडेनले आफ्नो कार्यकालमा विश्वमा कतै पनि एक अमेरिकी सेनाको पनि मृत्यु नभएको दाबी गरे। यद्यपि फ्याक्ट चेकमा उनको यो दाबी गलत निस्किएको थियो।

यस वर्षको जनवरीमा जोर्डनमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो। यसबाहेक अगस्ट २०२१ मा अफगानिस्तान छोड्ने क्रममा काबुल एयरपोर्टमा भएको आत्मघाती हमलामा १३ सैनिकको मृत्यु भएको थियो। इस्लामिक स्टेट समूहको आईएस-के शाखाले यस हमलाको जिम्मेवारी लिएको थियो।

डिफेन्स क्याज्युल्टी एनालिसिस सिस्टमका अनुसार डोनाल्ड ट्रम्पको कार्यकालमा ६५ अमेरिकी सैनिकको मृत्यु भएको थियो।

बाइडेनले उठाएर पोर्नस्टारको मुद्दा
बहसमा राष्ट्रपति बाइडेनले हश मनी मुद्दाको समेत उल्लेख गरेका थिए, जसमा हालै न्यूयोर्कको अदालतले उनका विपक्षी ट्रम्पलाई दोषी ठहर गरेको थियो।

ट्रम्पमाथि भूतपूर्व पोर्न स्टार स्टर्मी डेनियललाई सन् २०१६ मा उनको मौनताको बदलामा गोप्य रूपमा पैसा तिरेको आरोप छ।

ट्रम्पमाथि टिप्पणी गर्दै बाइडेनले भने, ‘त्यहाँ एउटा मात्र व्यक्ति छ जो सजाय पाएको अपराधी हो र अहिले म उसलाई हेरिरहेको छु।’

स्टर्मी डेनियलसँग ट्रम्पको कथित सम्बन्धको सन्दर्भमा, बाइडेनले ट्रम्प नैतिक व्यक्ति नभएको टिप्पणी गरे। यद्यपि ट्रम्पले बाइडेनको आरोप अस्वीकार गर्दै त्यसको खण्डन गरे।

इजरायल गाजा युद्ध
गाजाबारे सोधिएको प्रश्नको जवाफमा पूर्व राष्ट्रपति ट्रम्पले इजरायलले आफ्नो काम पूरा गर्नुपर्ने बताए।

उनले बाइडेन प्यालेस्टाइनी जस्तै भएको र त्यस्तै देखिएको आरोप समेत लगाए। प्यालेस्टाइनीजस्तै देखिए पनि बाइडेन उनीहरूमाझ पनि अलोकप्रिय रहेको उनको भनाइ छ।

ट्रम्पले फेरि एकपटक युक्रेनलाई अमेरिकी सहयोगको मुद्दा उठाएका छन्। युरोपेली मुलुकले अमेरिकाभन्दा कम खर्च गरेको उनले बताए।

ट्रम्पले बाइडेनलाई ‘नाटो सहयोगीहरूलाई थप पैसा खर्च गर्नका लागि किन दबाब बनाउन सक्नुहुन्न?’ भनेर प्रश्न गरे।

इजरायल-हमास युद्ध अन्त्य गर्न के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा बाइडेनले हमासले युद्ध अन्त्य गर्न नचाहेको बताए।

उनले इजरायलप्रति अमेरिकाको प्रतिबद्धता दोहोर्यााउँदै हमासलाई ध्वस्त पार्नुपर्ने बताए।

असार १३, २०८१ शुक्रबार १०:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।