इंग्ल्यान्डको ब्याटिङ लाइन धराशायी हुँदा टी-२० को फाइनलमा भारत, दक्षिण अफ्रिका प्रतिस्पर्धी

इंग्ल्यान्डको ब्याटिङ लाइन धराशायी हुँदा टी-२० को फाइनलमा भारत, दक्षिण अफ्रिका प्रतिस्पर्धी

काठमाडौं : जितका लागि एक सय ७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड  १०३ रनमा धराशायी भएपछि भारत टी-२० वर्ल्डकपको फाइनलमा प्रवेश गरेको छ। भारतले इंग्ल्यान्डलाई सेमिफाइनलमा ६८ रनले हरायो।

वर्षाका कारण पटक-पटक रोकिएको खेलमा भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो। उसका लागि कप्तान रोहित शर्माले ५७, सूर्यकुमार यादवले ४७, हार्दिका पाण्ड्या २३ र अक्षर पटेल ११ रनमा आउट हुँदा रविन्द्र जडेजाले नटआउट १७ रन जोडेका थिए।

इंग्ल्यान्डका क्रिस जोर्डनले तीन तथा आदिल रसिद, साम करण, जोफ्रा आर्चर र रिसी टोप्लेले समान एक-एक विकेट लिए।

जवाफी लक्ष्य पछ्याएको इंग्ल्यान्डका सबै ब्याट्सम्यान १६.४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटियो। इंग्ल्याण्डका ब्याटर भारतीय टिमको बलरका अगाडि निरीह रहे। १० ओभरमै ६ विकेट गुमाइसकेको थियो।

इंग्ल्यान्डका ह्यारी ब्रुक २५, जस बटलर २३, क्रिस जोर्डन २१ र लियम लिभिङ्स्टनले ११ रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका लागि कुलदिप यादव र  अक्षर पटेलले तीन/तीन विकेट लिँदा जसप्रित बुमराहले दुई विकेट लिए।

पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई हराएर साउथ अफ्रिका फाइनलमा पुगिसकेको छ। यी दुई टोलीबीचको फाइनल खेल शनिबार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ।

असार १३, २०८१ शुक्रबार ०२:००:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।