एसईई नतिजाबारे सरोकारवाला : शीर्ष दलहरूले शिक्षा र विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउञ्जेल नतिजा यस्तै हुन्छ

एसईई नतिजाबारे सरोकारवाला : शीर्ष दलहरूले शिक्षा र विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउञ्जेल नतिजा यस्तै हुन्छ

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक डा. विष्णुप्रसाद पोखरेलले देशको शिक्षा प्रणाली राम्रो नभएको बताएका छन्। 

आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले २०७० सालमा भर्ना भएको १०/११ लाख विद्यार्थीमध्ये ०८० सालमा साढे चार लाखले परीक्षा दिएर ४७ प्रतिशत पास हुनु भनेको शिक्षा प्रणालीमाथि प्रश्न उठाउनु पर्ने विषय भएको बताए। 

सरकारले भौतिक संरचनातिर मात्रै ध्यान दिएको भन्दै उनले शिक्षकको पेशागत बृत्तिविकास र तालिमतर्फ ध्यान दिन आग्रह गरे। शिक्षाको गुणस्तर सुधारका लागि प्रक्रियामा लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ। 

प्रा.डा.नन्दबहादुर सिंहले राजनीतिक दलहरूले विद्यालय र विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउने  कार्य जारी रहेसम्म शिक्षा क्षेत्रमा सुधार नहुने ठोकुवा गरे। 

‘मुख्य तीनवटा राजनीतिक दलहरूले शिक्षा क्षेत्र र विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउन जुन दिनसम्म रोकिँदैन, त्यहाँसम्म नेपालको शिक्षा यस्तै हुन्छ,’ उनले भने। 

प्रा.डा.सिंहले नेपाली कांग्रेसका शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साहस गरेर राष्ट्रिय सहमति गरेर विद्यालय र विश्वविद्यालयभित्र संगठन बनाउने कुरा अन्त्य गर्नुपर्ने बताए। सामुदायिक विद्यालयको अधिकांश शिक्षक र प्रधानाध्यापकले विद्यालयमा राम्रोसँग नपढाएको उनको आरोप छ। 

प्रा.डा. सुरेन्द्र केसीले शिक्षामा २० प्रतिशत र स्वास्थ्यमा ७ प्रतिशत बजेट विनियोजन हुनुपर्छ भन्ने विश्वव्यापी नियम रहेको बताए।  अहिले शिक्षा क्षेत्रतर्फ खासै राम्रो बजेट विनियोजन नभएको भन्दै शिक्षकहरूले राम्रो तलब नपाएसम्म रिजल्टमा सुधार नआउने उनको भनाइ छ। 

उच्च माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले ५२.१३ प्रतिशत विद्यार्थी फेल भएको अवस्थामा देशको शिक्षा प्रणाली र नतिजालाई राम्रो मान्न नसकिने बताए। अघिल्लो वर्ष मिडियाहरुले ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको भनी समाचार लेखेपनि त्यो यथार्थ नरहेको उनको भनाइ छ। 

सिलवालले अघिल्लो वर्ष सरकारले ४ जीपीए आउनेको संख्या सार्वजनिक नै नगरेको बताए। यसपालि ४ जीपीए आउने १ सय ८६ जना रहेको छ। उनले विद्यार्थी फेल हुनुको सबैभन्दा पहिलो दोषी सामुदायिक विद्यालयमा पढाउने शिक्षक रहेको बताए।  

‘विद्यार्थी फेल भयो, विद्यार्थी दोस्रो हो। अभिभावक तेस्रो हो, पहिलो त्यो टिचर असक्षम हो। शिक्षकले चाहेमा जेपनि गर्नसक्छ। शिक्षकले ध्यान दिन सकेन। शिक्षकले पढाउन, लेखाउन र विद्यार्थीमा कन्फिडेन्ट दिन सकेन,’ उनले भने, ‘शिक्षकहरू विद्यार्थीउन्मुख हुनुपर्यो, कक्षाकोठाउन्मुख हुनुपर्यो। राजनीतिक दल र राजनीतिक दलको झण्डाउन्मुख हुनुभएन।’ 

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने भनेपनि कार्यान्वयन नभएको बताए। उनले नीति निर्माता र सिकाउने मान्छेहरूले अपराध गरेको बताए। केही समयअघि नीति निर्माताहरूले विद्यार्थीहरूले फेल भएको कारण आत्महत्या गरे, अब फेल नभन्ने भनेर ग्रेडिङ सिस्टमको सुरुवात गरिएको उनको भनाइ छ।

यो वर्ष फेरि फेल भनिएको भन्दै उनले विद्यार्थीहरूलाई फेरि आत्महत्या गर भनेको हो? भन्दै प्रश्न गरे।  

असार १२, २०८१ बिहीबार २१:५९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।