भोलिदेखि आइतबारसम्म यी स्थानमा हुनसक्छ भारी वर्षा

भोलिदेखि आइतबारसम्म यी स्थानमा हुनसक्छ भारी वर्षा

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले शुक्रबारदेखि आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्णरूपमा विकसित भएर सरदर स्थानभन्दा उत्तरतर्फ रहने देखिएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको हो।

मनसुनी वायुको प्रभावका कारण भोलिदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रहेर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

शुक्रबारदेखि आइतबारसम्म तीन दिन मेघगर्जन/चट्याङ, भारी वर्षा, भूक्षय, पहिरोको जोखिम रहेको छ।

यस्तै, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने महाशाखाको मनसुन विशेष मौसम बुलेटिनमा जनाइएको छ।  

असार १२, २०८१ बिहीबार २०:५२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।