अर्को भेडेटार बन्नसक्छ सुनसरीको सूर्यकुण्ड

अर्को भेडेटार बन्नसक्छ सुनसरीको सूर्यकुण्ड

सूर्यकुण्ड : सुनसरीको उत्तरी भेगमा पर्ने बराहक्षेत्र नगरपालिकाको एक नम्बर वडामा एउटा गाउँ छ, सूर्यकुण्ड। सूर्यकुण्ड सुनसरी जिल्लाको तालको नाम हो। त्यही तालको नामबाट गाउँलाई सूर्यकुण्ड भन्न थालियो। यसको चर्चा बराह पुराणमा समेत उल्लेख छ। स्कन्द पुराणमा त चतराको बयरवनदेखि सूर्यकुण्डसम्मको चर्चा छ।

यससम्बन्धी जानकार कवि प्रह्लाद पहरेदार भन्छन्, ‘बराह पुराणकाअनुसार सूर्यकुण्ड आदिकालमै स्थापना भएको मानिन्छ। यसलाई रुद्राक्षको क्षेत्र पनि मानिन्छ। प्राकृतिक ताल अवशेषको रूपमा मात्र बाँकी छ भने यसैको झझल्कोस्वरूप कृत्रिम तालको निर्माण गरिएको छ। सूर्यकुण्ड प्राचीन हरिद्वार चतराधाम, चारधाम मध्येको एक बराहक्षेत्र धाम (मन्दिर) र धरानको विष्णुपादुकाको त्रिवेणीको रूपमा अवस्थित छ। खासगरी जंगबहादुर राणा, हिन्दुपति राजा र वीपी कोइरालासँगको नाता रहेको यस क्षेत्रको चर्चा भने कम हुने गरेको छ।’

भौगोलिक विकटता भएका कारण हरकोही यहाँ पुग्न चाहँदैनन् र सक्दैनन् पनि। तर, यहाँ पुगेपछि हरकोही लोभिन्छन्। क्षणभरमै फेरिने मौसम अनि घाम र कुहिरोको लुकामारी पनि यहाँको विशेषता हो। आदि बराहको मन्दिर, सतिदेवीको लट्टा खसेको स्थान लट्टेनीथान, भवानीथान, पाँच पाण्डबले कौडा खेलेको स्थान लगायतका कयौं अनौठा किंवदन्तीहरू सूर्यकुण्डसँग जोडिएका छन्।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व 
यस क्षेत्रमा चियाबारी, बागदलबारी, टुनिराङ लगायतका गाउँहरू छन्। यद्यपि यी सबैको समग्रतालाई सूर्यकुण्ड क्षेत्र भनिन्छ।

संस्कृत साहित्यका महाकवि कालिदासको मेघदुत खण्डकाव्यमा सूर्यकुण्ड र मैनामैनीको चर्चा छ। त्यस्तै, वीपी कोइरालाको बहुचर्चित उपन्यास सुम्निना यही परिवेशमा आधारित छ। यस मानेमा पनि सूर्यकुण्ड धार्मिक, सांस्कृतिक, ऐतिहासिक रुपले मात्र नभई साहित्यिक समिश्रण भएको पवित्र स्थल हो।

रोपेको पिपलको रुख, आदि बराह, सूर्यकुण्ड, भवानीथान, गुप्तेश्वर मन्दिर इत्यादि ऐतिहासिक र धार्मिक महत्वका स्थलहरू सूर्यकुण्डका आकर्षण हुन्। आजसम्म पनि जंगबहादुर राणाको पालाको तामा र फलामको सिक्का सूर्यकुण्ड क्षेत्रमा जमिन खन्दा भेटिने गरेको स्थानीयको जिकिर छ।

त्यसैगरी सबैभन्दा पहिला उत्पत्ति भएको बराह अर्थात् आदि बराह यहीँ अवस्थित छ। हिन्दु धर्मावलम्बीले मान्ने गरेका भगवान महादेवले मरेकी सतिदेवीको शव बोकेर संसार घुम्दै गर्दा सतिदेवीको लट्टा खसेको किंवदन्ती बोकेको स्थान सूर्यकुण्डमै छ। यसलाई अहिले लट्टेनीथानको मन्दिरको रूपमा स्थानीयहरू पूजाआजा गर्ने गर्दछन्।

आदिवासी जनजाति त्यसमा पनि राई जातिको बाहुल्यता रहेको सूर्यकुण्डमा किराँत भाषा, कला, भेषभुषा, संस्कृति, सभ्यता एबम् जीवनशैलीलाई जीवन्त रूपमा देख्न सकिन्छ। उधौली र उभौली पर्वमा यहाँ लाग्ने मेलाले किराँतकालीन केन्द्र सूर्यकुण्ड नै रहेको झझल्को दिने गरेको छ। त्यस्तै, यहाँ प्रयोग हुँदै आएका कुटो, कोदालो, जाँतो र हलोजस्ता जीवनशैलीले शहरीया पर्यटकको ध्यान खिच्न सक्छ।

सूर्यकुण्डमा पर्यटक लोभिने अर्को कारण भनेको यहाँबाट दृश्यावलोकन गर्दा देखिने सौन्दर्यता हो। सूर्यकुण्डबाट हेर्दा सप्तकोशी नदी, चतराबजार, धरानबजार, बराहक्षेत्र मन्दिर, उदयपुरको मैनामैनी लगयातका स्थानहरूले धेरैलाई लोभ्याउने गरेको छ।

गाईले दूध नदिने गाउँ
एक महत्वपूर्ण किंवदन्तीअनुसार यहाँ पालिएका गाईहरूले दूध दिँदैनन्। सुन्दा अनौठो लाग्ने यस यथार्थ अहिले पनि कायमै छ। अन्यत्रबाट दूध दिँदै गरेको लैनो गाई यस गाउँमा पुर्याएपछि एक्कासी दूध दिन छाड्छन्। आइहाल्यो भनेपनि दूध सुक्छ या फाट्छ। १९औं शताब्दीताका नेपाल बाइसे चौबिसे राज्यमा विभाजित थियो। पृथ्वीनारायण शाहले एकीकरण गरेपछि यस क्षेत्रलाई विजयपुर राज्यअन्तर्गत राखियो। त्यसपछि विजयपुरमा हिन्दुपति नाम गरेका राजा थिए।

एकदिन हिन्दुपतिकी धर्मपत्नी रानी हिन्दुराजीलाई बरको रुख रोप्न मन लाग्यो। त्यसपछि रानीले जोगिनीको रूप धारण गरी यहाँका प्रत्येक घर गएर गाईको दूध मागिन् तर दूध हुनेहरूले पनि दिएनन्। रानी निराश हुँदै घर फर्किइन र सुनको कचौरामा आफ्नै स्तनबाट दूध दुहेर बरको बिरुवालाई जरा उभो र टुप्पो उधो गरेर रोपिन्। यस किंवदन्तीलाई पुष्टि गर्ने आधार हो, उनले रोपेको त्यो बरको रुख। 

स्थानीय अर्जुन कुलुङ भन्छन्, ‘२०५७ सालसम्म त्यो रुख हामीले प्रत्यक्ष देखेका थियौँ, त्यसपछि ढल्यो।’ 

तत्कालीन समयमा सो रुख एसियाकै ठूलो बरको रुख भएको उनको जिकिर छ। सूर्यकुण्ड तालको २ सय मिटरको दूरीमा अवस्थित उक्त रुख ४६ फुटको चौडाइमा ढाकिएको थियो। हिन्दुराजी रानीले सो वरको रुख गाईको दूधबाट रोप्न चाहेको भएपनि गाउँलेले दूध नदिएको हुनाले रानीले श्राप दिएपछि यस ठाउँमा गाईको दूध नआउने गरेको जानकार कविमान बज्राचार्य बताउँछन्।

‘आफूले चाहेको पूरा नभएपछि रानीले यस ठाउँमा कहिल्यै पनि गाईको दूध नआओस्, आइहाले पनि दूध फाटेर जाओस् भन्ने श्राप दिएकै कारण यहाँ आजसम्म पनि गाईको दूध आउँदैन,’ उनी भन्छन्, ‘आज पनि सूर्यकुण्डका प्रत्येकजसो घरमा एक दुई वटा गाई छन्। तर ती गाईको दूध छिटो सुकिहाल्ने गरेको छ। दूध दुहेर राख्दा एकदमै छिटो फाटेर जान्छ, दही हुँदैन।’

उमेरले चार दशक पार गरिसकेका कुलुङका अनुसार उनीहरूले गाई मलका लागि मात्र पालेको हुन् रे। दूध खान मन लागे दुहेर तुरुन्त खाइहाले मात्र सम्भव रहेको उनको भनाइ छ। सोही ठाउँमा जन्मे-हुर्केका उनले  बच्चादेखि नै गाईको दूध खान नपाएको बताउँछन्।

‘मेरो बुबा, हजुरबुबाले पनि दुईचार वटा गाईहरू पाल्नुभाको थियो, मैले थाहा पाउँदासम्म दूधै आउँदैनथ्यो’, उनले भने।

आजसम्म रानीकै श्रापलाई मान्दै आएका यहाँका स्थानीयले गाई नपालेका भने होइनन्। तर, गाईको हकमा दूध नआउने भए पनि भैँसीको भने दूध आउने गरेको छ। किसान रमेश कुमार राईले गाईको दूध नआएपछि भैँसी किनेर पालेका छन्।

‘गाईबाट दूध नआएपछि दिक्दार भएर मैले भैँसी किनेँ। भैँसीको दूध पनि आउँछ, सुक्दैन अनि फाट्दैन पनि। भैँसी ल्याएदेखि त मैले दहीसम्म बनाएर खान थालेको छु’, उनले भने।

होम स्टेको समेत व्यवसाय गर्दै आएका अर्जुनका अनुसार यहाँ धेरैपटक जीव विकासशास्त्रीहरू अध्ययनका लागि आए पनि ठोस कारण आजसम्म पत्ता लाग्न सकेको छैन।

अर्को भेडेटार बन्नसक्छ, सूर्यकुण्ड
प्राकृतिक, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको स्थान सूर्यकुण्डमा उचित व्यवस्थापन र प्रचारप्रसार गर्नसके पर्यटकको अथाह सम्भावना रहेको छ।

पत्रकार महासंघ केन्द्रीय सदस्य भिषण राईको नेतृत्वमा युवाहरूको समूहले हाइकिङ गर्दै यहाँको प्रचारप्रसार समेत गरिरहेको छ। त्यसैलाई निरन्तरता दिएर सूर्यकुण्डलाई भेडेटारको विकल्प बनाइन सकिने पत्रकार राई बताइछन्।

यद्यपि सडकको सुविधा नहुँदा सूर्यकुण्डले बर्सेनि हजारौं पर्यटकहरू गुमाइरहेको छ। तराईका अधिकांश बासिन्दाहरू गर्मी छल्न सुनसरी र धनकुटाको सीमामा पर्ने भेडेटार जाने गरेका छन्।

वातावरणीय, प्राकृतिक र सांस्कृतिक रूपमा इतिहास बोकेको सूर्यकुण्डले उचित प्रवर्द्धन गर्नसके भेडेटारमुखी पर्यटकको ध्यान खिच्न सक्छ। वरिपरि जंगलले घेरिएको सूर्यकुण्डलाई छाँगा, छहरा, डाँडा-काँडाले उस्तै शोभनीय बनाएको छ। खासगरी यहाँको क्षणभरमै बद्लिरहने मौसमले भेडेटारलाई बिर्साइदिने उनको दाबी छ।

सूर्यकुण्ड पुग्न चतराको मिलन चोक र भलायोटारबाट ६ किलोमिटर उकालो चड्नुपर्छ। त्यस्तै, धरानको मंगलबारे हुँदै बिष्णुपादुकाको पहाडी कच्ची बाटोबाट पुग्न सकिन्छ। तर, वर्षायाममा पहिरो खस्ने, बाटो अवरुद्ध हुने तथा सडक चिप्लो हुने हुँदा सूर्यकुण्ड पुग्न पैदलयात्रा मात्र सम्भव हुन्छ। त्यहाँ पुगेपछि पर्यटकलाई बस्नका लागि पाँच वटा होमस्टे छन्।

धनकुटाको आहालेसँग समेत जोडिएको सूर्यकुण्ड पुग्न मौसमअनुसार स-साना भ्यान तथा मोटरसाइकलहरू उपयोगी हुन्छन्। 

सूर्यकुण्डलाई पर्यटकीय हबको रूपमा विस्तार गर्नको निम्ति स्तरीय बाटोको प्रबन्ध मिलाइ सडक सञ्जाललाई जोड्नु यहाँको पहिलो आवश्यकता बनेको छ। सडक सञ्जाललाई जोड्न सके यहाँको पर्यटन प्रवर्द्धनका लागि व्यवसायीहरू लगानी गर्न तयार रहेको होटल व्यवसायी मेम्कुमार चाम्लिङ बताउँछन्।

अहिले भेडेटारमा होटल व्यवसाय गर्दै आएका उनी भन्छन्, ‘भेडेटारमा गर्मी छल्नमात्रै भारतसहित नेपालबाट ५ लाख पर्यटक आउने गरेका छन्। त्यसमध्ये केहीलाई सूर्यकुण्ड भित्र्याउन सकिन्छ। बराहक्षेत्रको धार्मिक पर्यटकलाई समेत आकर्षित गर्ने हो भने त्यो भन्दा पनि बढी संख्यामा पर्यटक आउन सक्छन्।’

सडक समस्यालाई दीर्घकालीन समाधान गर्न स्थानीय, प्रदेश र स‌ंघका जनप्रतिनिधिले खासै पहल गरेको पाइँदैन। नगरपालिकाले २० लाख छुट्याएर मात्र सूर्यकुण्ड जाने बाटोको स्तरोन्नत्ति हुन सक्दैन। यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले सूर्यकुण्ड जोड्ने बाटोलाई गौरवको आयोजनाअन्तर्गत राख्न प्रदेश र संघ सरकारसँग पहल गरिरहेको बताएका छन्।

प्रदेश सरकारले पर्यटकीय गन्तव्यको विकासको लागि धरान-भेडेटार हुँदै सूर्यकुण्ड-बराहक्षेत्र जोड्ने केबलकारको योजना समेत अघि सारेको भए पनि काम सुरु भएको छैन।

असार १४, २०८१ शुक्रबार १६:०१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।