टीआरसीलाई सहमतिमै टुङ्ग्याउन शीर्ष तीन नेताहरू सहमत

टीआरसीलाई सहमतिमै टुङ्ग्याउन शीर्ष तीन नेताहरू सहमत

काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) लाई सहमतिमै टुङ्ग्याउन शीर्ष तीन नेताहरू सहमत भएका छन्।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा नेताहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका धेरै बुँदामा सहमति भइसकेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए। 

उनका अनुसार नेताहरूबीच शान्ति प्रक्रियाका सम्बन्धमा बाँकी कामहरूलाई निष्कर्षमा पुर्याउने विषयमा भएको छलफल सकारात्मक भएको छ। नेताहरूबीच सहमति हुन नसकेका विषयलाई चाँडो टुंगोमा पुर्याउन गहिरो गृहकार्य गर्ने समझदारी बनेको छ। 

उनले भने, 'धेरै बुँदामा सहमति भइसक्यो, तीन–चार बुँदामा सहमति जुटाउन बाँकी छ। खासगरी मेलमिलापमा सन्दर्भमा पीडित पक्षको स्वतन्त्र सहमतिमा टुंग्याउन विषय महत्त्वपूर्ण छ। तर, पीडित पक्षको स्वतन्त्र सहमति नभएको अवस्थामा कसरी जाने भन्ने विषय टुंगिन बाँकी छ। गम्भीर मानव अधिकार र मानव अधिकारका कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने भन्ने विषयमा पनि छलफल हुन बाँकी छ,' उनले भने।

आजको बैठकमा भने प्रतिपक्षी दल कांग्रेसले संक्रमणकालीन न्यायलाई लिएर फरक दृष्टिकोण नराखेको गिरीले दाबी गरे। 

मन्त्री गिरीले अर्को बैठक चाँडै बसेर टुङ्ग्याउन नेताहरु सहमत भएको बताए।

असार १२, २०८१ बिहीबार २०:२७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।