मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीय महिलाको ज्यान गयो, अन्य ३ महिला घाइते

मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीय महिलाको ज्यान गयो, अन्य ३ महिला घाइते

काठमाडौं : रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। तीन महिला घाइते भएका छन्।

मुसिकोट नगरपालिका वडा नम्बर ८ मा मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीय झुपादेवी रोकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन पोख्रेलले बताए।

घाइते हुनेहरूमा ६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते रहेका छन्। तथापि उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल सल्लेनमा उपचार भइरहेको छ। 

उनीहरू छिमेकीको बारीमा मकै गोड्न गएका थिए। बिजुलीको पोलबाट भुइँमा तार लत्रिएको थियो। उक्त तार मकै गोड्ने क्रममा झुपादेवीले छोएकी थिइन्।

झुपादेवीलाई करेन्ट लागेपछि उनलाई बचाउने प्रयास गर्दा अरूलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ। 

असार १२, २०८१ बिहीबार १९:५९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।