‘घरज्वाइँ’को ट्रेलर कार्यक्रममा बुद्धिको अश्लील शब्दबारे निर्देशकको तर्क’ खासै वास्तै हुन्न’

‘घरज्वाइँ’को ट्रेलर कार्यक्रममा बुद्धिको अश्लील शब्दबारे निर्देशकको तर्क’ खासै वास्तै हुन्न’

काठमाडौँ : अभिनेता दयाहाङ राई र मिरुना मगरको जोडी ‘जारी’देखि ‘घरज्वाइँ’ सम्म आइपुग्दा औपचारिक कार्यक्रममा यी कमै छुट्टिन्थे। तर असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको घरज्वाईँको प्रमोसनका लागि बिहीबार आयोजित कार्यक्रममा भने दयाहाङ एक्लै भए।

बिहीबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा मिरुना मात्रै हैन फिल्मका अन्य कलाकार बुद्धि तामाङ, पुष्कर गुरुङ, अनु थापा,भोलाराज सापकोटा पनि देखिएनन्। मिरुना नआउनुको कारण उनी पूर्वको विभिन्न जिल्लामा छायाङ्कन भइरहेको फिल्म ‘ऊनको स्विटर’को छायाङ्कनमा व्यस्त भएको बताए निर्माण टिमले।

कार्यक्रममा शिशिर वाङ्देल,खबपु पुन लगायतका कलाकार भने उपस्थिति थिए। कार्यक्रममा फिल्मको ट्रेलरमा कलाकार बुद्धि तामाङले बोलेको अश्लील शब्दमा केन्द्रित भयो। सञ्चारकर्मीले फिल्ममा त्यो शब्द किन राखियो भनेर प्रश्न गर्दा अभिनेता राईले आफूलाई पहिला त भल् गर नै लागेको तर जुन ठाउँको कथामा फिल्म बनेको हो त्यहाँ यो सामान्य रहेको दाबी गरे।

निर्देशक अनिल बुढामगरले पश्चिम रुकुममा बोलीचालीको भाषामा आउने अश्लील शब्दको खासै वास्तै नहुने र आफूले कुनै कुनै ठाउँमा मात्रै राखेको दाबी गरे। जनक घर्ती मगरको निर्माणमा तयार भएको फिल्ममा निर्देशक बुढा मगरकै कथा छ।

सुशन प्रजापतिको छायाङ्कन,कृष्ण भण्डारीको सम्पादन रहेको यस फिल्ममा मनोज थापा मगर र एसडी योगीको सङ्गीत सुन्न  सकिन्छ। फिल्ममा अनिल बुढा मगर, विनोद खतिवडा र सुवास कोइरालाको पटकथा, अनिलको कथा छ।

असार १२, २०८१ बिहीबार १९:४१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।