कीर्तिपुरमा आँखा निकाल्ने गरी कुकुर कुटेको आरोपमा एकजना पक्राउ

कीर्तिपुरमा आँखा निकाल्ने गरी कुकुर कुटेको आरोपमा एकजना पक्राउ

काठमाडौं : काठमाडौंको कीर्तिपुरमा आँखा निकाल्ने गरी कुकुर कुटेको आरोपमा एकजना पक्राउ परेका छन्।

बिहीबार कीर्तिपुर नगरपालिका वडा नम्बर ५ पांगामा सामुदायिक कुकुरलाई निर्मम तरिकाले कुटेको आरोपमा प्रहरीले सोही ठाउँका सुरेश महर्जनलाई पक्राउ गरेको हो। 

कुकुरलाई निर्मम तरिकाले कुटेको भन्दै पशु कल्याण संस्था स्नेहाज केयरले प्रहरी वृत्त कीर्तिपुरमा जाहेरी दिएपछि महर्जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घाइते कुकुरको आँखा नै फुत्त बाहिर निस्किएको छ। आँखाको प्वालबाट निरन्तर रगत निस्किरहेको छ। टाउको रक्ताम्य छ। कुकुरको अवस्था एकदमै नाजुक अवस्थामा रहेको पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले बताइन्। उनका अनुसार कुकुरलाई लठ्ठी र ढुंगाले हिर्काइएले कुकुरको अंगभंग भएको छ। 

यसबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ। घाइते कुकुर कल्याणको संरक्षणमा रहेको प्रहरीले जनाएको छ। 

मुलुकी अपराध संहिता २०७४ मा पशुपंक्षी सम्बन्धी कसुरमा पशुपंक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने भन्ने उल्लेख छ। उक्त कसुर गर्ने वा गराउनेलाई तीन महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। 

असार १२, २०८१ बिहीबार १९:३९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।