एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने, सम्मानित नेताको पद पनि यथावत्

एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने, सम्मानित नेताको पद पनि यथावत्

काठमाडौं : एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने खतिवडाले बताए। उनका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ। अहिले सम्मानित नेतामा झलनाथ खनाल छन्। 

सचिवालय बैठकपछि निर्णय सुनाउँदै उनले भने, ‘पर्सि असार १५ गते पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दैछौं। हाम्रो केन्द्रीय कमिटीको संख्या २९९ जनाको हुनेछ। १० महाधिवेशनको हलबाट हामीले थप्ने गरि हामीले यो संख्या २९९ जना गर्ने गरि प्रस्ताव गरेका छौं। हाम्रो केन्द्रीय पदाधिकारीको संख्या २१ जनाको हुनेछ। सम्मानित नेताको पद कायम गरिनेछ। वरिष्ठ उपाध्यक्षको एउटा पद सिर्जना गरिनेछ। केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट राख्ने निर्णय भएको छ।’

एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ। सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ।

योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ। 

असार १२, २०८१ बिहीबार १८:२०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।