एसइइमा छात्रा शिक्षाको नतिजा निराश, ५५ प्रतिशत कक्षा ११ पढ्न असफल

एसइइमा छात्रा शिक्षाको नतिजा निराश, ५५ प्रतिशत कक्षा ११ पढ्न असफल

काठमाडौँ : यस पटकको एसइइमा परीक्षामा ५२ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन असफल भए। ४ लाख  ६४ हजार ७ सय ८५ विद्यार्थी सहभागी भएकामा २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको कक्षा ११ मा भर्ना हुन अयोग्य भए।

कुल परिक्षार्थीमध्ये ५२.१४ प्रतिशत नन ग्रेडेड(कक्षा ११ मा भर्ना हुन अयोग्य) हुँदा ४७.८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरे। नन ग्रेडेड भएका विध्यार्थीहरुमध्ये जो-जो दुई विषयमा ग्रेड प्राप्त गर्न असफल भएका छन् उनीहरू एक महिना पछि हुने पूरक परीक्षामा सहभागी हुन पाउने छन्। साउन १८ र १९ गते पूरक परीक्षा हुनेछ। 

नन ग्रेडेड हुनेमा छात्रभन्दा छात्राको सङ्ख्या धेरै छ। एक लाख २८ हजार २ सय ५७ छात्रा नन ग्रेडेडहुँदा एक लाख १४ हजार ४८ जना छात्र नन ग्रेडेडको सूचीमा परेका छन्।

यसमध्ये सबैभन्दा धेरै विद्यार्थी गणितमा ग्रेड प्राप्त गर्न असफल भएका छन्। गणितमा एक लाख ७७ हजार नौ सय ८५ जनाले मात्र ग्रेड पाउन असफल भएका छन्। । विज्ञानमा नन ग्रेडेड पाउनेको सङ्ख्या एक लाख २६ हजार नौ सय ३३ छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा धेरै विद्यार्थी नन ग्रेडेड हुने तेस्रो विषय जनाएको छ। अंग्रेजी हो। एक लाख एक हजार तीन सय ८३ जनाको अङ्ग्रेजीमा ग्रेडका लागि आवश्यक नम्बर पुगेन।

सामाजिक विषयमा ७३ हजार आठ सय ७७, नेपालीमा ६९ हजार पाँच सय ३२, अर्थशास्त्रमा ६९ हजार चार सय १६ र ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीले ग्रेडका लागि आवश्यक नम्बर पाउन सकेनन्।

परीक्षा प्रणालीमा सुधार गर्दै यस पटक ग्रेडका लागि सैद्धान्तिक र प्रयोगात्मकमा अलग-अलग ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान लागु भएको थियो। त्यसको प्रभाव परीक्षाको नतिजामा देखियो। ग्रेडमा पर्न कुनै पनि विषयमा २७ बढी नम्बर आवश्यक पर्छ।

यस्तो छ ग्रेड सङ्ख्या

यस पटकको एइइमा २ लाख ३३ हजार २ सय ७० छात्र र २ लाख ३१ हजार ५ सय ३ छात्रा सहभागी भएका थिए। बिहीबार सार्वजनिक भएको एसइई नतिजामा ३१ हजार २ सय ९ जनाले ३.६० देखि ४ जिपिएसम्म ल्याएर उत्तीर्ण भए। यसमा छात्रको सङ्ख्या १६ हजार ९ सय १० छ भने छात्राको सङ्ख्या १४ हजार २ सय ९८ छ।

३.२० देखि ३.६० जिपिए ल्याउनेको सङ्ख्या ६८ हजार २ सय ५६ छ। यसमा छात्रको सङ्ख्या ३६ हजार ९ सय ३ र छात्राको सङ्ख्या ३१ हजार ३ सय ५२ छ। २.८० देखि ३.२० जिपिए ल्याउनेको सङ्ख्या ७८ हजार छ। यसमा छात्रको सङ्ख्या ४२ हजार १ सय ३५ हुँदा छात्राको सङ्ख्या ३६ हजार ७ सय ३८ रहेको छ।

२.४० देखि २.८० सम्म जिपिए ल्याउनेको सङ्ख्या ४१ हजार १ सय ७७ रहेको छ। यसमा २१ हजार ६ सय ८९ छात्रको सङ्ख्या छ भने १९ हजार ४ सय ८७ छात्रा छन्। २ देखि २.४० जिपिए ल्याउनेको सङ्ख्या २ हजार ९ सय ५० छ। यसमा छात्र एक हजार पाँच सय ७६ छन् भने एक हजार तीन सय ७१ छात्रा छन्। १.६० देखि २ जिपिए ल्याउनेमा ६ जना छन्। ती सबै छात्र हुन्।

अन्य र छात्राको नतिजा थप निराश

कुल ४ लाख ६४ हजार ७८५ विद्यार्थीहरूको नतिजामा झन्डै आधा बढी विद्यार्थी कक्षा ११ मा भर्ना हुन असफल भए। असफलता दर ५२.१३% देखियो। लैङ्गिक आधारमा छात्र विद्यार्थीहरूको सफलता दर ५१.११% रहेको छ, जुन छात्रा विद्यार्थीको ४४.६०% भन्दा उच्च छ।

छात्राहरूको असफलता दर ५५.४०% छ, जसले शिक्षामा लैङ्गिक असमानता सङ्केत गर्छ। अन्य समूहका ६६.६७% असफल भएका छन्।

जिपिएको आधारमा समेत छात्रा र अन्य लिङ्गीहरूको नतिजा उत्साहजनक देखिएन। परीक्षामा कुल परिक्षार्थीमध्ये छात्रको सङ्ख्या २ लाख ३३ हजार २ सय ७० रहेको थियो। छात्रको सङ्ख्या २ लाख ३१ हजार पाँच सय ३ थियो। सबै तहको ग्रेडमा छात्रको प्रतिशत कम देखिन्छ।

तथ्याङ्कमा एसइई

१. उच्च जिपिए (३.६० - ४.००):

छात्र: ७.२५%, छात्रा: ६.१८%

छात्रहरूको प्रदर्शन केही उत्कृष्ट देखिन्छ।

२. मध्यम-उच्च जिपिए (३.२० - ३.६०):

छात्र: १५.८२%, छात्रा: १३.५४%

छात्रहरूको प्रतिशत अझै उच्च छ।

३. मध्यम जिपिए (२.८० - ३.२०):

छात्र: १८.०६%, छात्रा: १५.८७%

यस समूहमा सबैभन्दा बढी विद्यार्थीहरू छन्, र छात्रहरूको प्रतिशत उच्च छ।

४. मध्यम-निम्न जिपिए (२.४० - २.८०):

छात्र: ९.३०%, छात्रा: ८.४२%

अन्तर केही कम हुँदै गएको देखिन्छ।

५. निम्न जिपिए (२.०० - २.४० र १.६० - २.००):

दुवै लिङ्गमा यी समूहहरूमा कम विद्यार्थीहरू छन्।

६. अनुत्तीर्ण:

छात्र: ४८.८९%, छात्रा: ५५.४०%

छात्राहरूको अनुत्तीर्ण दर उच्च छ।

असार १२, २०८१ बिहीबार १६:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।