कलाकार लोकनाथको हिजोका कुरा : सिंहदरबारमा मेरो पानको हाइ डिमान्ड थियो, पूर्वप्रधानमन्त्री र कलाकार हुरुक्कै हुन्थे

कलाकार लोकनाथको हिजोका कुरा : सिंहदरबारमा मेरो पानको हाइ डिमान्ड थियो, पूर्वप्रधानमन्त्री र कलाकार हुरुक्कै हुन्थे

६० वर्षअघि इलाममा जन्मिएका कलाकार लोकनाथ आचार्यको बाल्यकाल गाउँमै बित्यो। झापाको धुलावारी आएर एसएलसी पास गरेका उनले पञ्चायतकालमा पञ्चहरूले निम्त वर्गका मानिसहरुलाई विभिन्न बहानामा बर्बर यातना दिने गरेको बताए।

एसएलसीपछि दुग्ध विकास संस्थानको जागिरे भएका उनी दूध संकलनका लागि इलाममा खटिए। त्यतिबेला गाउँबाट इलाममा घोडा वा खच्चरबाट दूध ल्याइन्थ्यो भने इलामबाट गाडीमा विराटनगर दूध पुर्याइन्थ्यो।

इलाममा बसेका उनी खानपानमा चामलको भात नपाइने बताउँछन्। उनका अनुसार त्यतिबेला कोदो, फापर र मकैको ढिडोमा दूध मिसाएर खाुनपर्थ्यो। आफूहरुलाई चामलको भात खान उल्कै मन लागे पनि नपाउने गरेको उनको अनुभव छ।

पञ्चायतकालसम्म छोरीचेलीलाई पढाउनुपर्छ भन्ने चेतना आइसके पनि खेतिपातीको कामका कारण अधिकांशले बीचमै पढाइ छाड्थे। आचार्य परिवारमा छ दाजुभाइ र दुई दिदिबहिनीमध्ये उनी जेठो हुन्। घरमा अरुले धेरै नपढे पनि उनले आइएसम्मको अध्ययन गरे।

‘अरुले काम गरेर खान सक्छन्, जेठो अलिक कमजोर छ, त्यसैले पढोस्’ भनेर आफूलाई बुवाले पढाएको उनी अझै स्मरण गर्छन्। काठमाडौं आएपछि पान पसल खोलेका उनले कलाकारितामा इच्छा देखाए। सन्तोष पन्तको कार्यक्रम ‘हिजो आजका कुरा’मा काम गर्न रहर भएको सुनाए।

पान खान आएका सन्तोष पन्तले उनलाई टेलिश्रृंखलामा खेल्न सिंहदरबार बोलाए। त्यहि बेलादेखि उनले पसल र कलाकारितालाई सँगसँगै अघि बढाइरहेका छन्। उनै कलाकार आचार्यले आफूले भोगको समयका केही अनुभव उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी सम्झिए।

१० कक्षा पढ्दा चार स्कुल फेरियो 
मैले गाउँकै कजिनी स्कुलमा ३ कक्षासम्म अध्ययन गरेँ। हाम्रो घरबाट करिब आधा घण्टाको दूरीमा पर्थ्यो। त्यसपछि फिकलमा ७ कक्षासम्म पढेपछि कर्फोकमा ८ र ९ पढेँ अनि झापाको धुलाबारीको स्कुलबाट मैले १० कक्षा पास गरेँ।

त्यतिबेला कक्षा जति चढ्यो त्यति स्कुल परिवर्तन गरिरहनुपथ्र्यो। अहिले त १२ कक्षासम्म एउटै स्कुलमा पढाइ हुन्छ। त्यतिबेला विद्यार्थी थोरै हुने हुँदा स्कुल परिवर्तन गरिरहनुपर्ने समस्या थियो।

मैले थाहा पाउदा बोर्डिङ स्कुल नै थिएनन्। हाम्रो ठाउँतिर छोराछोरी पढाउनुपर्छ भन्ने कुरामा चेतना थियो। बुबाआमाहरूले सबैलाई स्कुल जा भनेर नै पठाउनुहुन्थ्यो। अब पढ्न मन नगर्ने, नचाहनेका लागि त अहिले पनि कहाँ पढ्छन् र?

त्यतिबेला पढ्ने र पढाउन चाहेनाका लागि प्रशस्तै ठाउँ थियो। कतिले भैंसी गोठालो अनि कतिले खेतीपाती गर्नुपर्ने भएकाले दुई वा तीन कक्षा पढेपछि काम छाड्थे।

पञ्चायतकाल भए पनि त्यतिबेला पढाउनुहुँदैन, स्कुल जानु हुँदैन भनेर छोरी मान्छेलाई रोकतोक भएको मैले पाइनँ। हाम्रा दिदीहरू, छरछिमेकीहरु सबै नै स्कुल जान्थे। अभिभावकहरू पनि शिक्षित नै हुनुहुन्थ्यो।

भारतको सिक्किम, दार्जिलिङको छेउछाउ भएको हुनाले पनि त्यतिबेला हाम्रा अभिभावक राम्रै सोचको हुनुहुन्थ्यो। ‘छोरी मान्छे हो, अर्काको घरजाने जात, पढाउनुहुन्न’ भन्ने कुरा मैले पाइनँ।

घोडामा दूध बोकेर संकलन
पञ्चायत व्यवस्थाको समयमा एसएलसी पास भएको सुनेपछि घरमा नै जागिर दिन आउँथे भन्ने गरिन्छ। तर, मैले चाहीँ त्यो अवसर पाइनँ। मैले त्यतिबेला विराटनगरको दुग्ध विकास संस्थानमा अस्थायी जागिर पाएँ।

त्यो जागिरको सिलसिलामा मलाई इलामको जस्बिरे भन्ने ठाउँमा दूध संकलनका लागि खटाइएको थियो। दुग्ध कलेक्सन सेन्टरमा बसेर कृषकहरूले ल्याएको दूधलाई नापेर, भरेर चिस्यान सेन्टरमा राख्नुपर्ने हुन्थ्यो अनि विराटनटरबाट आएको गाडीमा पठाउनुपर्थ्यो।

त्यतिबेला अहिलेको जस्तो साइकल, मोटरसाइकलमा दूध संकलन हुँदैनथ्यो। अधिकांशले घोडामा दूध बोकेर संकलन केन्द्रमा ल्याउँथे। कृषकहरू निकै उत्साहित हुन्थेँ। हप्ता–हप्ता दिनमा कसको कति दूध आयो, त्यहि अनुसारको रकम दिइन्थ्यो।

प्रधानपञ्चले रुखमा बाँधेर कुटेको देखे
त्यतिबेला गरिबी धेरै थियो। खान्की भनेकै मकै र कोदोको ढिडो हुन्थ्यो। चामलको भात खान पाउनुलाई ठूलो उपलब्धि मानिन्थ्यो। तर अहिले त्यतिबेलाको खान्की धेरै राम्रो रहेछ भन्ने बुझेको छु। त्यतिबेला हामीले अमृत नै खाएका रहेछौँ नि!

अब प्रधानपञ्चको कुरा जोडौँ। मैले थाहा पाउँदा गाउँमा प्रधानपञ्चहरूको हुकुमी शासन जस्तो थियो। सेतो घोडामा फलाना आयो है भनेपछि नमस्कार गर्नुपर्ने हुन्थ्यो। त्यतिबेला एकजना श्रेष्ठ थरका प्रधानपञ्च थिए हाम्रो गाउँमा। अभर पर्दा उहाँकै घरबाट बुवाले चामल ल्याएर पाहुनालाई खुवाउने गर्नुहुन्थ्यो।

अनि ती प्रधानपञ्च आएर हाम्रो बारीमा लगाएका अलैँची सबै टिपेर लैजान्थे। त्यतिबेला आफ्नो दाममा बेच्न पाइँदैनथ्यो। प्रधानपञ्चले दिएकै मूल्यमा राजी हुनुपर्थ्यो। मंहगो मूल्यमा बिक्री हुन्छ भन्ने कुरा पछि मात्र थाहा पाएँ मैले।

त्यतिबेलाका मान्छेहरूमा कमै पैसा हुन्थ्यो। कोही विरामी हुँदा अलिकति धनिमानीसँग नै सापटी माग्ने हो। उसैसँग ऋण लिने हो। अरु उपाय नै थिएन। त्यतिबेलाका धनी भनेको प्रधानपञ्च नै हो। उसैसँग अन्न, पैसा माग्नुपर्ने हुन्थ्यो। समयमा नतिरेको खण्डमा अस्तिको पैसा कहिले तिर्छस् भन्थेँ, धम्क्याउँथे।

मैले मेरो छिमेकीलाई प्रधानपञ्च र उनको हुलले मकैको थाङ्ग्रोमा बाँधेर कुटेको देखेको छु। हामी सानै थियौँ। स्कुल जाँदै गर्दा बाटोमा मेरो छिमेकीलाई बाँधेर कुटिरहेका थिए। सायद उसले भनेको भाकामा पैसा नदिएरै होला, त्यस विषयमा पछि खासै चासो दिइएन।

मोदनाथ प्रश्रितको ५० को तमसुक
३२ सालतिर स्कुल पढ्दा गाउँका अभिभावकहरुले बालकृतन भनेर खोलिदिनुभएको थियो। बालकृतनमा भजन गाउनुपर्ने अनि सोही समयमा उहाँहरूकै अग्रसरतामा ‘५०को तमसुक’ भनेर मोदनाथ प्रश्रितको नाटक थियो।

त्यो नाटक कजिनी स्कुलमा देखाइयो। नाटकमा मैले साहुको भूमिका निर्वाह गरेको थिएँ। त्यसमा मैले गरिबलाई दबाब दिएको, तमसुक बनाउँदा अन्याय गरेको थाहा पाएपछि पीडितहरूले मलाई लखेटेको सिन थियो।

लखेट्दा पनि पछाडि टिन बाँधेर, कालो मोसो दलेर स्टेजमा मलाई घुमाउँदा एकजना काकाले तलबाट नै आएर लौराले नै हान्नुभएको थियो। त्यस्तो आक्रोश थियो त्यो समयमा मानिसहरूमा।

सामन्ती शोषक भनेर लेखिएको त्यो टिनमा दर्शकले नै आएर हान्नु भनेको चानचुने कुर थिएन। उहाँले टिनमा हान्नुभएको हुनाले मलाई दुख्ने गरि लागेन। स्कुलमा मात्रै नाटक देखाएकाले त्यतिबेलाका प्रधानपञ्च, उपप्रधानपञ्चले हेर्न पाएनन्।

हामीलाई अगाडि बढाउने अग्रजहरूले पनि स्कुलको पढाइ बिग्रन्छ भनेर विस्तारै अग्रसरता छोडिदिनुभयो। नत्र हामीले ठूलै तरिकाबाट यो नाटक मञ्चन गर्यो होला जस्तो अहिले लाग्छ। सायद, त्यहिबेलाको प्रभावले होला मैले थुप्रै सिरियल तथा फिल्महरूमा काम गर्ने जोस बढेको।

त्यहि रहरकै कारण २०५०/५१ सालतिर सन्तोष पन्तको ‘हिजो आजको कुरा’मा खेल्ने अवसर पाएँ, त्यो पनि डाइलग सहितको। ४८ सालतिर काठमाडौं आएको थिएँ म। बालाजु बाइपासमा पान पसल खोलेँ। त्यहाँ नगरपालिकाले दु:ख दिएपछि कालीमाटीमा पसल खोलेँ। त्यहाँ मेरो पसल नै चलेन।

घाटामा गएपछि एक जना दाइले न्यु प्लाजामा एउटा सटर खाली छ, मिल्छ भने लिँदा हुन्छ भन्नुभयो। यसो हेरेका ठिकै लाग्यो र यतै सरेँ। न्यु प्लाजामा मेरो पानको दोकान राम्रै चल्यो। तत्कालीन प्रधानमन्त्रीदेखि लिएर टेलिभिजनका कलाकार, निर्देशक लगायतका व्यक्तिहरू मेरो पान भनेपछि हुरुक्कै हुन्थे। सिंहदरबारमा मेरो पानको हाइ डिमान्ड थियो।

त्यति बेला ‘हिजो आजका कुरा’ खुब हिट थियो। सन्तोष पन्त पनि मेरोमा आइरहनुहुन्थ्यो। त्यहि मौकामा मैले उहाँलाई ‘मलाई पनि हिजो आजका कुरा’मा खेल्ने रहर छ भनेर मौका दिन आग्रह गरेँ। उहाँले सोमबार आउन भन्नुभयो। त्यसपछि मैले डाइलगसहित गएर पहिलोपटक टेलिभिजनमा देखिएँ।

५१ सालतरिको चुनावको माहोल थियो। त्यतिबेला मलाई सन्तोष पन्त सर ‘टाउको कन्याउँदै यो चिया त चुनावपछि नै खाउँला हौ’ भन्ने डाइलग बोल्न लगाउनुभाको थियो। यो डाइलक सहित बोलेपछि मलाई धेरैले चिने।

पान पसलमा आउनेहरूले पनि ‘तपाईं त हिजो हाम्रो घरमा पो आउनुभएको थियो त’ भन्ने कुरा गर्थे। त्यसो भन्दा ठूलै मान्छे पो भइएछ भन्ने लाग्थ्यो। आफ्नो आफन्त सबैले देखे। उता झापा ससुरालीबाट पनि कहाँबाट तपाईं त्यहाँ पुग्नुभयो भन्ने कुरा गर्नुभएको थियो। त्यतिबेला कलाकार भनेपछि निकै उत्साहित हुन्थेँ। जो कोही पनि।

लय संग्रौलाको वातारण सम्बन्धी ‘धुवाँ’ भन्ने सिरियलमा किरण केसी र लक्ष्मी गिरीको भदाको रोल गरेको थिएँ। अहिलेसम्म मैले ‘हिजो आजको कुरा’, ‘धुवाँ’, ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’, ‘हरि बहादुर, मदन बहादुर’ र दमन रुपाखेतीको केही सिरियलमा काम गरिसकेको छु। पछिल्लो समय ‘भुन्टी’ सिरियलमा अभिनय गर्दैछु।

​​​​​ठूलो पर्दाको फिल्महरू ‘जात्रा’, ‘जात्रै जात्रा,’ ‘महाजात्रा’, ‘हरि’, ‘सूर्य चन्द्र’, ‘नमस्ते’ लगायत एक दर्जन फिल्ममा अभिनय गरिसकेको छु। 

असार १३, २०८१ बिहीबार १२:५०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।