टी२० विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डसँग भिड्दै भारत, २०२२ को बदला लिने अवसर

टी२० विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डसँग भिड्दै भारत, २०२२ को बदला लिने अवसर

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज साविक विजेता इंग्ल्यान्ड र भारत भिड्दैछन्।

नेपाली समय अनुसार राति सवा ८ बजे हुने खेलको विजेताले दक्षिण अफ्रिकासँग उपाधिका लागि खेल्नेछ। यसअघि टी२० विश्वकप २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको थियो।

जोस बटलर र एलेक्स हेल्सलेको उत्कृष्ट ब्याटिङमा भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमै पूरा गरेको थियो। २०२२ को बदला लिनका लागि भारतलाई आज मौका रहेको छ। अहिले भारतको टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ।

टी२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतीय टोली अष्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुगेको हो। भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर एटमा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ।

उता इंग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। यसअघि पनि २०२२ मा दुवै टोली अन्तिम चारमा आमनेसामने भएका थिए जहाँ इंग्ल्याण्डको टोली जित दर्ता गर्न सफल भएको थियो।

नकआउट खेलमा भारतीय टोली फेरि एकपटक रोहित शर्माको नेतृत्वमा जोस बटलरको सेनासँग भिड्नेछ। टी२० क्रिकेटमा यी दुई टोलीले २३ पटक भिडेका छन् जसमा भारतको अग्रता छ। भारतले १२ खेल जितेको छ भने इङ्ल्यान्डले ११ खेलमा जितको स्वाद चाखेको छ। टी२० विश्वकपको इतिहासमा इङ्ल्यान्डले भारतसँग चार पटक सामना गरेको छ। दुवै टोलीले दुई–दुई खेल जितेका छन्।

यो खेलमा भारतले फेरि रोहित शर्माबाट बलियो प्रदर्शनको अपेक्षा गरेको छ। अस्ट्रेलियाविरुद्ध उनको ब्याट चलेको थियो। उनले ९२ रनको तुफानी पारि खेल्दै स्टार्क र प्याट कमिन्सलाई ध्वस्त पारेका थिए। आगामी खेलमा पनि उनीबाट यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ।

रोहितको साथमा विराट कोहली देखिनेछन्। तर, स्टार ब्याट्सम्यानको फर्म चिन्ताको विषय बनेको छ। हालसम्म जारी प्रतियोगितामा उनले ६६ रन मात्र बनाउन सकेका छन्। यस्तो अवस्थामा फेरि एकपटक यशस्वी जैसवालले बाहिर बस्नुपर्ने हुनसक्छ। उनी अहिलेसम्म प्लेइङ ११ मा परेका छैनन्।

विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त तेस्रो नम्बरमा रहनेछन्। पछिल्लो ६ खेलमा उनले १३२.५३ को स्ट्राइक रेटमा १६७ रन बनाएका छन्। सूर्यकुमार यादव चौथो नम्बरमा ब्याटिङ गर्दैछन्। हालको प्रतियोगितामा उनले दुई अर्धशतकको सहयोगमा १४९ रन बनाएका छन्। उनी इंग्ल्याण्डविरुद्धको खेलमा भारतका लागि सबैभन्दा ठूलो आशा हुनेछन्।

शिवम दुबे पाँचौं नम्बरमा आउनेछन्। यस्तो अवस्थामा सञ्जु सैमसन बाहिर बस्नु पर्ने हुनसक्छ। योसँगै उपकप्तान हार्दिक पाण्ड्याले फेरि एक पटक फिनिसरको भूमिका निर्वाह गर्नुपर्ने हुनेछ। उनी टी–२० विश्वकपमा बल र ब्याटबाट चम्किएका छन्।

स्पिन विभागमा रविन्द्र जडेजा, अक्षर पटेल र कुलदीप यादव पक्कै छन्। तीनै बलरले आफ्नो घातक बलिङबाट वेस्ट इन्डिजको पिचमा विशेष प्रभाव छोडेका छन्। यससँगै जसप्रित बुमराहले फास्ट बलिङ आक्रमणको जिम्मेवारी सम्हाल्ने देखिएका छन्। उनलाई अर्शदीप सिंहले साथ दिनेछन्। हार्दिक पाण्ड्याले पनि आफ्नो चार ओभर बलिङ गर्नु पर्नेछ।

यसैगरी इंग्ल्याण्डका कप्तान जोस बटलरको भारतविरुद्ध उत्कृष्ट कीर्तिमान छ। आफ्नो ठूला छक्काको साथ, बटलरले कुनै पनि टोलीलाई घुँडा टेकाउन सक्छन्। अमेरिकाविरुद्धको अन्तिम खेलमा उनले स्पिनर हरप्रीतलाई लगातार ५ छक्का प्रहार गरेका थिए। यस विश्वकपको ६ इनिङ्समा बटलरले ४८ को औसतमा १९१ रन बनाएका छन्।

त्यसैगरी इङ्लिस लेग स्पिनर आदिल रसिद अहिले उत्कृष्ट फर्ममा छन्। उनले यो विश्वकपमा ७ खेलमा ९ विकेट लिएका छन्। उनले ओमानविरुद्ध ११ रन दिएर ४ विकेट लिए, जसको मद्दतमा इङ्ल्यान्डले ओमानलाई ४७ रनमा अलआउट गरेको थियो।  यो खेल इंग्ल्याण्डका लागि यो विश्वकपको महत्वपूर्ण खेल थियो।

असार १२, २०८१ बिहीबार ११:५८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।