बढ्दो गर्मीका कारण पाकिस्तानमा छ दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु

बढ्दो गर्मीका कारण पाकिस्तानमा छ दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु

एजेन्सी : बढ्दो गर्मीका कारण पाकिस्तानमा पछिल्लो छ दिनमा पाँच सयभन्दा बढी मानिसको मृत्यु भएको छ।

कराचीमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरेकोमा पछिल्लो छ दिनमा ५ सय ६८ शव आएको ईधी एम्बुलेन्स सेवाले जनाएको छ। सेवाका अनुसार जसमध्ये मंगलबार मात्रै १४१ वटा शव संकलन भएको थियो।

यी सबैको मृत्युको कारण के हो भन्न नसकिए पनि गर्मी बढेसँगै मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ।

आइतबारदेखि बुधबारसम्म कराचीको सिभिल अस्पतालमा तातो हावा ‘लु’ का कारण २६७ जनालाई भर्ना गरिएको थियो। तीमध्ये १२ जनाको मृत्यु भएको आपतकालीन विभागका प्रमुख डा इमरान सरवर शेखले जानकारी दिए।

डा शेखले बीबीसीलाई भने, ‘अस्पतालमा आउने अधिकांश मानिस ६० वा ७० वर्षका छन् भने कोही ४५ र कोही २० वर्षका पनि छन्। हामीकहाँ आउने अधिकांश मानिसहरू घरबाहिर काम गर्नेहरू हुन्। हामीले उनीहरूलाई धेरै पानी पिउन र हल्का लुगा लगाउन सुझाव दिएका छौँ।’

कराचीमा जनतालाई गर्मीको लहरबाट जोगाउन शिविर र केन्द्र स्थापना भइरहेका छन्। यद्यपि सहयोगको खाँचो रहेका धेरै मानिसहरू अस्पतालसम्म पुग्न सकेका छैनन्।

५६ वर्षीय वसीम अहमद सुरक्षा गार्ड हुन्। १२ घन्टाको सिफ्ट सकेर घर पुग्दा उनको अवस्था ठिक थिएन। वसीमका भाइ अदनान जफरले भने, ‘उहाँ ढोकाबाट आउनो र म यो गर्मी सहन सक्दिन भन्नुभो। एक गिलास पानी मागेर पिउने बित्तिकै बेहोस् हुनुभो।’

वसीमको परिवारले उनलाई अस्पताल पुर्यारउँदासम्म चिकित्सकले उनको हृदयघातका कारण मृत्यु भइसकेको थियो। अदनानले वसीमलाई पहिलेदेखि नै मुटुको रोग लागेको भए पनि गर्मीका कारण यसअघि कुनै समस्या नभएको बताए।

बढ्दो गर्मी बाहेक, बिजुली कटौती पनि कराचीका जनताको लागि ठूलो समस्या हो। कराची सबैभन्दा बढी गर्मी हुने पाकिस्तानको शहरमध्ये एक हो। समाचार एजेन्सी रोयटर्सका अनुसार गत महिना त्यहाँको तापक्रम ५२.२ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको थियो।

असार १२, २०८१ बिहीबार ११:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।