हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएपछि केन्याका राष्ट्रपतिद्वारा वित्त विधेयक फिर्ता

हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएपछि केन्याका राष्ट्रपतिद्वारा वित्त विधेयक फिर्ता

एजेन्सी : हिंसात्मक प्रदर्शन बढेपछि केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ताको घोषणा गरेका छन्।

वित्त विधेयक संसदमा पेश भएपछि सुरु भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति रुटोले विधेयक फिर्ता लिने बताएका हुन्। उक्त वित्त विधेयकमा कर वृद्धिको प्रावधान थियो।

केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले केन्याका जनताले यो विधेयकको कुनै पनि अंश नचाहेको स्पष्ट भएको बताए। आफूले विधेयकमा हस्ताक्षर नगर्ने भन्दै उनले थपे, ‘म हार स्वीकार गर्छु।’

केन्यामा सरकारको नयाँ वित्त विधेयक संसदमा पेश गरेपछि त्यहाँ प्रदर्शन सुरु भएको थियो। देशभर विरोध प्रदर्शन भए पनि केन्याको संसदले विवादास्पद वित्त विधेयक पारित गरेको थियो।

त्यसपछि प्रदर्शनले हिंसात्मक रुप लिएको थियो। प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेर संसदको एक भागमा आगजनी समेत गरेका थिए। मंगलबारको हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएको पुष्टि भएको थियो।

सुरुमा राष्ट्रपति रुटोले विरोध प्रदर्शनलाई कडाइका साथ सामना गरिरहेको थिए। उनले प्रदर्शन रोक्न सेना समेत परिचालन गरेका थिए। तर, जनताको चर्को विरोधलाई ध्यानमा राख्दै राष्ट्रपतिले विधेयक फिर्ता लिने घोषणा गरेका हुन्।

सरकारले पेश गरेको विधेयकको उद्देश्य केन्याको वार्षिक करलाई असर गर्ने देशको ८० अर्ब डलरको ऋण घटाउनु थियो। रुटोले नयाँ प्रावधान किसान, विद्यार्थी र शिक्षकका लागि फाइदाजनक साबित हुनसक्ने बताएका थिए।

केन्यामा सामाजिक सञ्जालमा विरोध प्रदर्शन अझै जारी रहने चर्चा चलिरहेको छ। यसअघि प्रदर्शनकारीहरूले विवादास्पद आर्थिक विधेयकमा राष्ट्रपतिले हस्ताक्षर नगरुन् भन्ने चाहन्थे भने अब उनीहरू राष्ट्रपतिको राजीनामाको माग गरिरहेका छन्।

असार १२, २०८१ बिहीबार १०:१८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।