अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी२० विश्वकपको फाइनलमा

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी२० विश्वकपको फाइनलमा

काठमाडौं : अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका आईसीसी टी२० विश्वकपको फाइनल पुगेको छ।

बिहीबार विहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर भेट्टायो।

उसका लागि रीजा हेन्डरिक्स र एडेन मारक्रमले अविजित रहँदै क्रमशः २९ र २३ रनको पारी खेल्दा क्विन्टन डिकक पाँच रन बनाएर आउट भए।

अफगानिस्तानका फजहल्लक फारुकीले एक विकेट लिए।

त्यसअघि ट्रिनिडाडको ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा अलआउट भएर ५६ रन मात्र बनाएको थियो।

उसका लागि अजमुल्लाह ओमरजाइले १० रन बनाउँदा १३ रन अतिरिक्त पाएको थियो। अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पावर प्लेमै पाँच विकेट गएपछि अफगानिस्तानको टोली खेलमा फर्किन सकेन।

दक्षिण अफ्रिाकाका लागि तरबैज साम्सी र मार्को जनसेनले तीन-तीन विकेट लिँदा कागिसो रबाडा र एनरिच नोर्ट्जेले समान दुई-दुई विकेट लिए।

अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो भने जारी विश्वकपमा दक्षिण अफ्रिका अपराजित छ।

दोस्रो सेमिफाइनलमा आजै साँझ भारत र इ‌ंग्ल्यान्ड भिड्दैछन्।

असार १२, २०८१ बिहीबार ०८:३१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।