नेता पटक-पटक सत्तामा पुग्दा पनि रोल्पालीलाई सधैँ सास्ती

नेता पटक-पटक सत्तामा पुग्दा पनि रोल्पालीलाई सधैँ सास्ती

बुटवल : रोल्पा माओवादीको उद्गम थलो। सर्वहारा वर्गका आवाज हतियार मार्फत उठाउने विगुल फुक्दै माओवादीले सर्वसाधरणलाई द्वन्द्वमा लाग्न हौस्यायो। जनताले पनि दबिएको आवाज बुलन्द गर्ने भन्दै माओवादीलाई साथ दिँदै झोला बोके।

१० वर्ष देशमा सशस्त्र द्वन्द्व भयो। १७ हजार सर्वसाधारण मारिए। कैयन अङ्गभङ्ग भए त कति बेपत्ता पारिए। देशमा शान्ति सम्झौता भयो। माओवादी खुला राजनीतिमा मात्र आएन, पटक-पटक सरकारमै पुग्यो। माओवादी सरकारमा जाँदा रोल्पाबाट कुनै न कुनै नेताले प्रतिनिधित्व गरे। तर, रोल्पालीको अवस्था फेरिएन।

रोल्पामा अहिले यस्तै संयोग जुरेको छ। प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा प्रत्यक्षतर्फ निर्वाचनमा विजयी भएकाहरू मन्त्री बनेका छन्। दुर्लभ संयोग मान्नुपर्छ, रोल्पाबाट निर्वाचित माओवादीका तीन सांसद अहिले मन्त्री छन्।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा भौगोलिक कठिनाइ छ। अझै पनि त्यहाँका नागरिकले शुद्ध पानी पिउन पाएका छैनन्। शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार जस्ता आधारभुत सुविधा जनताको घरदैलोमा पुगेको छैन। जनता अझै पनि अभावमा दबिएका छन्। तर, तिनै जनताको मत पाएका नेताहरूले सरकारको नेतृत्व गरिरहँदा रोल्पाली भने ‘कागलाई बेल पाक्यो, हर्ष न विष्मत’ झैँ भएका छन्।

जनताले दिएको पटक-पटकको मत नेताहरूले दुरुपयोग गरेर आफूहरूमाथि बेइमानी गरेको स्थानीयको गुनासो छ।

प्रतिनिधि सभातर्फ रोल्पाबाट चुनाव जितेका वर्षमान पुन अहिले संघीय सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा छन्। माओवादी केन्द्रका उप-महासचिव समेत रहेका पुनले गत जेठ १५ गते संघीय संसदबाट आगामी वर्षको बजेट ल्याए।

प्रदेश सभा तर्फ रोल्पा १ (क) बाट निर्वाचित जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री छन्। एमाले सहितको गठबन्धनबाट महरा मुख्यमन्त्री बनेका हुन्।

त्यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा पनि रोल्पाली नेता दिपेन्द्रकुमार पुन मगर छन्। उनी रोल्पा १ (ख) बाट निर्वाचित भएका थिए।

कांग्रेस, माओवादीको गठबन्धन हुँदा नै मन्त्रीका लागि सिफारिस भए पनि तत्कालीन डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा पुन सहभागी हुन पाएनन्। किनकी सोही क्षेत्रबाट कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई उनै दिपेन्द्रले बागी उम्मेदावर बनेर हराएका थिए।

उनले माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उठेर विजयी भएका थिए। विजयी भएपछि उनी पुनः माओवादीमा फर्किएका थिए। कांग्रेसले कुनै पनि हालतमा दिपेन्द्रलाई मन्त्री बनाउन नहुने भन्दै मुख्यमन्त्रीदेखि कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत कुरा उठाएको थियो।

कांग्रेससँगको गठबन्धन भत्केर माओवादीले एमालेसँग गठबन्धन गरेपछि दिपेन्द्र मन्त्री बनेका हुन्। अहिले रोल्पाबाट प्रत्यक्ष निर्वाचनमा विजयी सबै मन्त्री र मुख्यमन्त्री बनेका छन्।

के भन्छन् रोल्पाली नेता?
प्रदेशमा मुख्यमन्त्री सहित संघ र प्रदेशमा मन्त्रीको धनी रोल्पामा यसपटक अझ बढी जनअपेक्षाअनुसार काम खोजिरहेको छ। जिल्ला अधुरा रहेको योजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने र नयाँ योजनाहरु ल्याएर समृद्ध बनाउनुपर्नेमा स्थानीयको जोड छ।

माओवादी रोल्पाका अध्यक्ष रेशम पुनले जन अपेक्षा अनुरुपको काम भइरहेको र अझै पनि विकासका सवालहरू धेरै बाँकी रहेको स्वीकारे। विकास निर्माण एकै पटक नहुने भन्दै विकासको योजना क्रमशः सम्बोधन हुँदै गएको उनको दाबी छ।

‘सडक पूर्वाधार, सिचाइं, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गुणात्मक विकास रोल्पालीको अहिलेको आवश्यकता हो। क्रमशः नेताहरूले यसलाई पूरा गर्दै जानुभएको छ’, उनले भने।

एमाले रोल्पाका अध्यक्ष अमृत बहादुर बुढामगर रोल्पाबाट प्रत्यक्ष निर्वाचनमा विजयी भएकाहरू मन्त्री र मुख्यमन्त्री भएपनि अझै रोल्पालीका जनचाहना पूरा नभएको बताउँछन्।

‘जनताले पटक-पटक मत दिने तर जनताको आकांक्षा पूरा नहुँदा रोल्पाली निराश छन्। तर, यसपटक संघ र प्रदेशबाट बजेट दिँदा प्राथमिकतामा परेको देखिन्छ। सडक, विद्युत्, खानेपानीका अपूरा योजना पूर्ण कार्यान्वयन होस्’, उनले भने।

रोल्पालीहरूको अवस्था माथि उठाउन कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्याउनुपर्ने भन्दै उनले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए।

रोल्पा कांग्रेसका सभापति किशोर कुमार आचार्यले रोल्पालीको मतबाट विजयी भएकाहरू मन्त्री र मुख्यमन्त्री बन्नु राम्रो भएको भन्दै कामको विषयमा अहिल्यै समीक्षा गर्ने बेला नभएको बताए।

‘जनताका माग भनेका शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी नै हुन्,’ उनले भने, ‘भर्खरै मात्रै उहाँहरू मन्त्री र मुख्यमन्त्री बन्नुभएको छ। कत्तिको काम गर्नुहुन्छ, हेर्न बाँकी छ।’

उनले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेट रोल्पाका लागि राम्रो भएपनि त्यसको कार्यान्वयनको अवस्था हेर्न बाँकी रहेको बताए।

पटक-पटक सत्तामा रोल्पाली
रोल्पाबाट निर्वाचनमा विजयी भएकाहरूले कयौं पटक सत्ताको बागडोर सम्हालेका छन्। ०६४ सालमा रोल्पाबाट निर्वाचित भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत बने। ०६४ सालमै रोल्पाबाट निर्वाचित जयपुरी घर्ती पनि मन्त्री बनिन्।

माओवादीमा सबैभन्दा बढी लाभको पद लिनेमा कृष्णबहादुर महरा अग्रपंक्तिमा आउँछन्। माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम सरकारमा पहिलो पटक सूचना तथा सञ्चार मन्त्री बनेका थिए महरा।

माओवादी महराकै नेतृत्वमा सरकारमा गएको थियो। २०६३ सालदेखि हालसम्म महरा मन्त्री र सभामुख गरी ६ पटक उच्च पदमा पुगिसकेका छन्।

रोल्पाकी ओनसरी घर्ती उपसभामुख हुँदै सभामुख बनिन्। रोल्पाकै अर्का माओवादी नेता नन्दबहादुर पुन उपराष्ट्रपतिसम्म बने।

रोल्पाबाटै निर्वाचनमा विजयी कुलप्रसाद केसी माओवादीबाट लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन्।

असार १२, २०८१ बिहीबार ०८:०७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।