साउनदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने समय बढाउन गृहमन्त्रीलाई एमालेको आग्रह

साउनदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने समय बढाउन गृहमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं : सत्तारुढ दल एमाले काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति थप गर्न गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरेको छ। 

बुधबार एमालेका नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री लामिछानेलाई सिंहदरबारमा भेटेर काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई केही पछि धकेल्न आग्रह गरेका हुन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता लिनका लागि २८ जिल्लाका लाभग्राहीलाई  आउने साउन १ गतेदेखि  राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्ने निर्णय गरेपछि लाभग्राहीले सास्ती खेप्नुपरेको भन्दै एमाले जिल्ला कमिटी लामिछानेको ध्यानाकर्षण गराएको हो। 

एमाले काठमाडौं जिल्ला सांसद कृष्ण गोपाल श्रेष्ठले साउनभित्र काठमाडौंमा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य चाहिने भएपछि ज्येष्ठ नागरिकका लागि पीडादायी भएको उल्लेख गर्दै उक्त मिति सार्न आग्रह गरेको हो। 

‘सामाजिक सुरक्षाभत्ता भनेर ज्येष्ठ नागरिकहरूले पाइरहेको भत्ता लिन उपत्यकामा साउन मसान्तभित्र राष्ट्रिय परिचयपत्रमा दर्ता हुनुपर्ने जुन अनिवार्यता छ। तोकिएको समयभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेर नम्बर लिन नसके भत्ता लिन नपाउने कुरा छ। यो पीडाको विषय भयो, यसलाई व्यवहारिक र गृह प्रशासनले सहजीकरण गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ,’ श्रेष्ठले भने। 

यस्तै, श्रेष्ठले ध्यानाकर्षणपछि गृहमन्त्रीले सकारात्मक रुपमा लिएको र सहजीकरण गर्ने पहल गर्ने बताए।  

उनले भने, ‘गृहमन्त्रीले हाम्रो कुरालाई सकारात्मक तरिकाबाट लिनु भएको छ। यसमा कुनै पनि हालतमा व्यवहारिक रुपमा समस्या उत्पन्न गर्न नदिने गरी हामीले दिएको सुझावलाई कार्यान्वयनको तहदेखि आवश्यकता परेकोसम्म काम गर्न तयार छु भन्नुभयो।’  

सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट दिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने निर्णय गरेको थियो। यसभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा, राजस्व सम्बन्धी (व्यक्तिगत आयकर दर्ता) सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरण जस्ता सुविधाहरू रहेका छन्।  

असार ११, २०८१ बुधबार २१:३९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।