प्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन प्रहरीलाई निमित्त आइजिपी थापाको निर्देशन

प्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन प्रहरीलाई निमित्त आइजिपी थापाको निर्देशन

काठमाडौँ : निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा बुधवार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा थापाले विपद्को समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गरी आफू सुरक्षित भई उद्धार कार्यमा खटिनुपर्ने बताए।

थापाले लागू औषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी कटिबद्ध भई लाग्नुपर्नेमा जोड दिँदै कारोबारमा सम्बद्ध जोकोहीलाई कानुनको दायरामा ल्याउन कानुन सम्मत कडा रूपमा प्रस्तुत हुनुपर्ने र सीमा नाकामा थप कडाइका साथ निगरानी तथा गस्ती बढाउनुपर्ने बताए।

उनले राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व सङ्कलन वृद्धिको लागि प्रभावकारी र परिणाममुखी ढङ्गबाट परिचालन हुन निर्देशन दिएका थिए।

प्रहरी प्रधान कार्यालयबाट भएका नीति निर्देशनहरू कार्यान्वयन गर्नुपर्ने र प्रहरी सङ्गठनको कार्यसम्पादन स्तर बढाउन प्रहरीको आचरण व्यवहारमा परिवर्तन ल्याउनुपर्ने, अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने तथा प्रहरीको आन्तरिक शुद्धीकरण, स्थायित्व र सुशासनका सन्दर्भमा सकारात्मक ऊर्जाका साथ लागी पर्नुपर्ने उनले बताए।

असार ११, २०८१ बुधबार २१:०७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।