टी-२० विश्वकप : सेमिफाइनलको पहिलो खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुँदै

टी-२० विश्वकप : सेमिफाइनलको पहिलो खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुँदै

काठमाडौं : आइसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल बिहीबार हुँदै छ। उक्त खेल नेपाली समय अनुसार बिहीवार बिहान सवा ६ बजे सुरू हुने छ। 

पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान आमनेसामने हुन लागेका हुन्। यो खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्ने छ। दक्षिण अफ्रिका अपराजित टोली हो। अफगानिस्तानले भने सुपर एटको खेलमा पराजय भोगेको थियो। अफगानिस्तानले सुपर एटमा अष्ट्रेलियालाई पराजित गर्दै इतिहास नै रचेको छ।

अफगानिस्तानका कप्तान राशिद खानले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका छन्। तीब्र गतिका बलर फजलहक फारुकी र नवीन उल हकले टोलीलाई प्रारम्भिक सफलता दिलाएर गतिलो सुरुआत गराउँदै आएका छन्।

यसैगरी गुलबदिन नाइबले अष्ट्रेलियाविरुद्ध चमत्कारी स्पेल बलिङ गरे भने मोहम्मद नाबीले पनि उत्कृष्ट प्रदर्शन गरे। ओपनर रहमानउल्लाह गुरबाज २८१ रन बनाएर प्रतियोगिताका सर्वाधिक सफल ब्याट्सम्यान बनेका छन् भने फारुकीले १६ विकेट लिएर सर्वाधिक सफल बलर बनेका छन्। 

अफगानिस्तानका दुई खेलाडीले केही ठूला नामहरू छोडेर तथ्याङ्क अफगानिस्तानको टोलीले यसअघि कहिल्यै पनि विश्वकपको सेमिफाइनल खेलेको छैन। अफगानिस्तान दक्षिण अफ्रिकालाई स्तब्ध बनाउँदै फाइनल पुगेर नयाँ इतिहास रच्ने लक्ष्यमा हुने छ।

उता, दक्षिण अफ्रिकाले पनि धेरै नजिकका खेलहरू जितेको छ। समूह चरणमा नेपालविरुद्ध १ रनको जित निकालेको थियो भने बंगलादेशविरुद्ध चार रनको जित दर्ता गरेको थियो। वेस्टइन्डिजमाथि ३ विकेटको कठिन जित निकालेको थियो।

एडेन मार्करामको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गरेको छ। प्रतियोगिताको शीर्ष १० ब्याट्सम्यानको सूचीमा दक्षिण अफ्रिकाका एक खेलाडी मात्रै छन्।

क्विन्टन डी कक सात खेलमा १९९ रन बनाएर छैटौं स्थानमा छन् भने दक्षिण अफ्रिकाका कुनै पनि बलर शीर्ष १० मा अटाएका छैनन्। 

अहिलेसम्म दक्षिण अफ्रिका र अफगानिस्तान विश्वकपमा २ पटक भिड्दा दुवै पटक दक्षिण अफ्रिकाले बाजी मारेको छ। यस्तोमा बिहीबारको सेमिफाइनलमा जित निकाल्दै दक्षिण अफ्रिका पनि पहिलो पटक आइसीसी टी २० विश्वकपको फाइनलमा पुग्ने अवसरको खोजीमा हुने छ।

यस्तो छ सम्भावित प्लेइङ ११ :
अफगानिस्तान : रहमानउल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, अजमातुल्लाह उमरजाई, गुलबदिन नाइब, मोहम्मद नाबी, करीम जनात, राशिद खान (कप्तान), नांग्याल खारुती, नूर अहमद, नवीन–उल–हक, फजलहक फारुकी। 

दक्षिण अफ्रिका : क्विन्टन डी कक (विकेटकिपर), रीजा हेन्ड्रिक्स, एडेन मार्कराम (कप्तान), ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जान्सन, केशव महाराज, कागिसो रबाडा, एनरिक नोर्टजे, तबरेज शम्सी।

असार ११, २०८१ बुधबार १८:५१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।