१३ वर्षकी किशोरीको गर्भमा ९ महिनाको शिशु, १८ वर्षे युवक पक्राउ

१३ वर्षकी किशोरीको गर्भमा ९ महिनाको शिशु, १८ वर्षे युवक पक्राउ

काठमाडौँ : असार पहिलो हप्ता बालाजु प्रहरीमा छक्कै पार्ने सूचना आयो। सूचना थियो  १३ वर्षकी कक्षा ८ पढ्ने बालिका ९ महिनाकी गर्भवती भएको। परिवारले लुकाउन खोज्यो तर घटना लुकेन।

प्रहरीले घटनाबारे सोधखोज गर्यो। चिनेजानेकै व्यक्तिबाट बालिका गर्भवती भएको खुल्यो। दुवै परिवारले घटना सामसुम पार्न खोजेका थिए तर प्रहरीले परिवारलाई छोरी नाबालिग भएको भन्दै सम्झायो। 

परिवारले घटना सामसुम पार्न खोजेको भन्दै प्रहरीले परिवारलाई समेत केरकार गर्यो। त्यसपछि मात्र किशोरीकी आमाले प्रहरी वृत्त बालाजुमा जाहेरी दिइन्। बालिकाकी आमाले जाहेरी दिएपछि प्रहरीले सोधपुछका लागि केही युवालाई नियन्त्रणमा लियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीका अनुसार असार ५  गते  १८ वर्षे एक युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उनका अनुसार पक्राउ परेका युवकले बालिकाको घरमा आउजाउ गर्ने गरेको र यौन सम्बन्ध भएको स्वीकारेका छन्।

'बालाजु प्रहरीको हिरासतमा युवक छन्। उनीमाथि अहिले अनुसन्धान भइरहेको छ,'अधिकारीले भने ' नाबालिग केस भएकाले अनुसन्धान गर्न समय लिइरहेका छौँ।'

अपराध संहिताको परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २  अनुसार कसैले कुनै महिलालाई निजको मन्जुर नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई करणी गरेको मानिन्छ। बालिका १३ वर्ष उमेरकी भएकीले प्रहरीले यसैलाई आधार मानेर मुद्दा चलाउने तयारी गरेको छ।

असार ११, २०८१ बुधबार १८:०१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।