झलनाथको रणनीति : सर्वसम्मत हुने भए आफू अध्यक्ष बन्ने, चुनाव भए घनश्यामलाई सघाउने

झलनाथको रणनीति : सर्वसम्मत हुने भए आफू अध्यक्ष बन्ने, चुनाव भए घनश्यामलाई सघाउने

काठमाडौं : एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ। उनीहरूबीच भएको भेटमा महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध एक भएर जाने विषयमा छलफल भएको बताइएको छ।

यसअघि महाधिवेशनमा अध्यक्षका लागि खनालले आफू चुनाव लड्ने बताउँदै आएका थिए। तर, आज भुसालसँगको भेटमा भने खनालले सर्वसम्मत हुने अवस्थामा मात्रै आफू अध्यक्ष बन्ने चुनाव हुने परिस्थिति भए घनश्यामलाई सघाउने बताए। 

‘एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भुसाल अगाडि बढ्नुहुन्छ। उहाँलाई नै झलनाथ खनालको साथ हुने भएको छ’, छलफलमा सहभागी नेता नरेश शाहीले भने।

अध्यक्ष माधव नेपालले भने फेरिपनि आफैं अध्यक्ष बन्नेगरी तयारी गरिरहेका छन्। उनले सार्वजनिक अभिव्यक्तिमा नेतृत्व सर्वसहमतिमै चुन्ने दाबी गरे पनि खनाल र भुसालबीचको सहमतिले भने चुनाव हुने सम्भावना बढाएको छ। 

एकीकृत समाजवादीको महाधिवेशन यही असार १६–२० मा काठमाडौंमा हुँदै छ। महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन्। 

असार ११, २०८१ बुधबार १७:३२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।