माधव नेपालविरुद्ध खनाल-भुसालको मोर्चा, पार्टी अध्यक्षमा कडा टक्करको तयारी

माधव नेपालविरुद्ध खनाल-भुसालको मोर्चा, पार्टी अध्यक्षमा कडा टक्करको तयारी

काठमाडौँ : एकीकृत समाजवादी पार्टीको भावी नेतृत्वका लागि वरिष्ठ नेता झलनाथ खनाल र महासचिव रहेका घनश्याम भुसालबिच सहमति भएसँगै माधव नेपाल सङ्कटमा परेका छन्। पार्टीको पहिलो महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न नेपाल सक्रिय भइरहँदा अध्यक्षमा खनाल र भुसालले समेत दाबी पेस गरेका थिए।

त्रिपक्षीय प्रतिस्पर्धा भएमा नेपाल बलियो अवस्थामा रहेकोमा बुधवार एकाएक खनालले भुसाललाई अध्यक्षमा समर्थन गरेपछि भने नेपालले चुनौती सामना गर्नुपर्ने देखिन्छ। एमाले हुँदा नै खनाल र नेपालबिच पार्टीभित्र सबै प्रतिस्पर्धा देखिँदै आएको थियो।

खनाल पार्टीको अध्यक्ष हुँदा गिरिजाप्रसाद कोइरालाको सहयोगमा नेपाल प्रधानमन्त्री बनेपछि दुवैको दुरी बढेको थियो। २०६४ को संविधानसभा निर्वाचनमा एमाले पराजित भएपछि नेपालले अध्यक्ष पदबाट राजीनामा दिएका थिए। खनाल नेतृत्वमा आए।

बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा खनाल कार्यकारी अध्यक्षमा निर्वाचित भए। त्यो बेलामा नेपालले ओलीलाई साथ दिएका थिए। पार्टी अध्यक्ष खनाल भए पनि कांग्रेसले नेपाललाई साथ दिएपछि उनी नै प्रधानमन्त्री भए। तर नेपाल नेतृत्वको सरकार लामो जान सकेन। नेपाल नेतृत्वको सरकार ढलेपछि खनाल प्रधानमन्त्री भएका थिए। उनको नेतृत्वको सरकार पनि लामो भने गएन।

एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बनेसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पेलाहा नीति चिर्न दुवै नेता एकै ठाउँमा उभिएका थिए।

नेकपा विघटन भएर साबिक एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एकीकृत समाजवादी गठन गर्दा खनालले नेपाललाई साथ दिए पनि पार्टीभित्र यी दुवै नेता सधैँ फरक कित्तामा उभिँदै आएका थिए।

प्रारम्भमा एकीकृत समाजवादीमा नआएका भुसालपछि पार्टीमा महासचिवको हैसियतमा सहभागी भए। पार्टीको पहिलो महाधिवेशन नजिकिएसँगै तीनै जनाले पार्टी नेतृत्वमा दाबेदारी पेस गर्दै सक्रिय भएका थिए।

प्रारम्भमा खनालले पार्टी अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए। नेपालले खनाललाई फकाउँदा फकाउँदै एकाएक भुसाल पनि पार्टी अध्यक्षको आकाङ्क्षी भएपछि नेपालले खनाले नै उनलाई ब्याकअप गरेको शङ्का गरेका थिए।

पार्टीको पहिलो महाधिवेशन भएकाले सहमतिका आधारमा नेतृत्व चयन गर्ने पक्षमा रहेका नेपालको शङ्का सत्य साबित गर्दै बुधवार खनाल र भुसाल एक भएर पार्टी नेतृत्वका लागि खनालले भुसाललाई समर्थन गर्ने सहमति भएसँगै दुवैले हात मिलाएको तस्बिर खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गरे।

बुधवार दुवै नेताबिच खनाल निवासमा छलफल हुँदा युवा सङ्घका पूर्व अध्यक्ष नरेशकुमार शाहीसमेत सहभागी थिए।

अबको चार दिनपछि एकीकृत समाजवादीको असार १६ गतेदेखि काठमाडौँमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। 

समाजवादीको २२ सदस्यीय सचिवालयमा हाल २० नेताहरू छन्। जसमा खनाल, भुसाल एकातिरहुँदा उनीहरूको पक्षमा १० र नेपालको पक्षमा पनि १० जना हुने छन्। 

नेपालको पक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, केशललाल श्रेष्ठ, बेदुराम भुसाल, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा, राजेन्द्र राई र नागेन्द्र चौधरी छन्। 

खनाल-भुसालको पक्षमा घनेन्द्र बस्नेत, धर्मनाथ प्रसाद साह, जयन्ती राई, प्रकाश ज्वाला, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली देखिएका छन्। रामकुमारी झाँक्री, गरिमा साह र भागवत विश्वासी कुनै गुटमा खुलेका छैनन्।

असार ११, २०८१ बुधबार १७:२४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।