गाँजाकै कारण नेपालको राजसंस्था सखाप भएको हो : बसन्तराज कुँवर

गाँजाकै कारण नेपालको राजसंस्था सखाप भएको हो : बसन्तराज कुँवर

काठमाडौं : नार्कोनन नेपालका निर्देशक एवं पूर्ववरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागूऔषधको कारण नेपालको राजवंश सिद्याएको दाबी गरेका छन्। 

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा बुधबार नेपाल न्युज बैंकसँग कुराकानी गर्दै कुँवरले २ सय ४० वर्ष लामो राजसंस्था सिधिन्नुको मुख्य कारण लागूऔषध भएको दाबी गरे। 

उनले भने, ‘नेपालको राजवंश लागूऔषधले नै सिद्यायो, संसारले माया गर्ने माइकल ज्याक्सन त्यसैले सिद्यायो। आउने समाज समेत लागूऔषधले बरबाद पार्दै छ। लागूऔषध नियन्त्रणको नीति तीनै तहको सरकारले प्राथमिकतामा राख्न आवश्यक छ। यति लामो राजसंस्था त गाँजाले सिद्याउँछ भने आम मान्छे के हालो? प्रतिवेदनले नै सार्वजनिक गरेको हो नि। गोमन सर्पको विष औषधी हुन्छ भनेर घर घरमा गोमन पाल भन्नु त भएन नि।’

उनले नेपालमा अहिले झण्डै सात लाख मानिस लागूऔषधको लतमा रहेको भएपनि ६ हजार ५ सय जना मात्र रिह्याब सेन्टरमा रहेको बताए। सरकारी रिह्याब सेन्टरको स्थापना गर्नुको सट्टा भएका निजी रिह्याब सेन्टर समेत बन्द गर्न उद्दत रहेको उनको भनाइ छ। 

उनले भने, ‘नेपालमा अहिले झण्डै ७ लाख लागूऔषध सेवन गर्ने रहेका छन्। रिह्याब सेन्टरहरूमा ६ हजार ५ सय जना रहेका छन्। बाँकी ६ लाख ९३ हजार जनाले बाहिर समाज भड्काउने र बिथोल्ने काम गरिरहेका छन्। रिह्याब सेन्टर त एउटा लागूऔषध नियन्त्रण गर्नुपर्छ भन्ने सन्देश मात्र हो। सरकारको एउटा पनि रिह्याब सेन्टर छैन। भएका रिह्याब सेन्टर पनि बन्द गर्न चाहन्छ। बन्द गर्न होइन बरु आफूले पनि खोल्ने हो।’

सरकारले ल्याउने बजेट र विदेशबाट आउने बजेटलाई समेत लागूऔषध नियन्त्रणमा प्रयोग गर्नुपर्ने उनको तर्क छ।  

असार ११, २०८१ बुधबार १५:५२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।