‘इट्स माई शो’ विवादमा सुरजसिंहले चित्त दुखाउँदै लेखे- '२३ वर्षको मेरो ब्राण्ड ध्वस्त भो'

‘इट्स माई शो’ विवादमा सुरजसिंहले चित्त दुखाउँदै लेखे- '२३ वर्षको मेरो ब्राण्ड ध्वस्त भो'

काठमाडौं : अभिनेत्री जसिता गुरुङको निजात्मक विषय गसिप बनाउँदा विवादमा आएको कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ कार्यक्रमका संस्थापक टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो  ब्रान्ड ध्वस्त भएको भन्दै चित्त दुखाएका छन्।

उनले सामाजिक सञ्जालबाट सो कार्यक्रमको प्रस्तोतासँगै कान्तिपुर टेलिभिजनमा समेत आवद्द नरहेको भन्दै २३ वर्षको मिहिनेतले बनेको ब्रान्ड ध्वस्त भएकोप्रति चित्त दुखाए।

अहिले सो कार्यक्रम ओसिन सिटौलाले चलाउँछिन्। सिटौलाले कार्यक्रमको पहिलो एपिसोडमै अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी आरएल शाहलाई बोलाएर 'एक अभिनेत्री जो हिजो धिरज मगरसँग डेट गर्थिन् आज अनमोल केसीसँग डेटमा छिन्' भन्ने प्रश्न गर्दा स्वस्तिमा र साम्राज्ञीले जसिताको नाम लिएका थिए।

जसिताले दुबै नायिकाले आफ्नो निजी विषय टेलिभिजन कार्यक्रममा भनेर निजी जीवनमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएपछि सामाजिक सञ्जालमा कार्यक्रमको तीब्र विरोध भइराखेको छ।

साम्राज्ञी र स्वस्तिमाले माफी माग्दासमेत विषय सेटल भएको छैन। ओसिन र कान्तिपुर टिभी मौन छ भने कार्यक्रम युट्युबमा अझै छ।

कार्यक्रमबारे आलोचना बढेपछि ठकुरीले सामाजिक सञ्जालमा लेखेर पछिल्लो कार्यक्रमले आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको बताए। 

‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो बफादारी ध्वस्त भएको छ। एक टेलिभिजनकर्मीको रूपमा म दुखित छु र यो सामग्रीको हिस्सा बन्न चाहन्न,' उनले लेखेका छन्। 

उता फिल्म निर्देशक प्रकाश सायमीलेसमेत सामाजिक सञ्जालमा लेख्दै स्वस्तिमा र साम्राज्ञीलाई कारवाही गर्न कलाकार संघसँग माग गरेका छन्।

कसैको चरित्रबारे घटिया टिप्पणी गर्दा आत्महत्यासम्मको घटनाको जोखिम हुने भन्दै सो कार्यक्रममा स्वस्तिमा र साम्राज्ञीले जे भने त्यसलाई घटिया भनेका छन्।

सम्बन्धित समाचार

असार ११, २०८१ बुधबार १४:३८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।