राजेश हमालले गरे क्याफे उद्घाटन, सोमपाल कामी विशेष अतिथि

राजेश हमालले गरे क्याफे उद्घाटन, सोमपाल कामी विशेष अतिथि

काठमाडौं : हुन त फिल्महरूबाट अफर आउन छाडेपछि महानायक भन्दा रुचाउने अभिनेता राजेश हमालको एकदमै फुर्सदिला भएका छन्।

आजकल कसैले बोलायो भने उनी नाइनास्ती गर्दैनन्। फ्याट्टै हुन्छ भन्छन्। त्यसैले आजकल ‘महानायक’ हमाललाई भेट्न उनका फिल्म कुर्न पर्दैन। कहिँ कतै रिवन काट्ने कार्यक्रममा गए पुग्छ। रिवन काट्नमा हमालले नेताहरूलाई पनि उछिन्न लागिसके भन्दा फरक पर्दैन।

सोही क्रमलाई निरन्तरता दिँदै हमालले मंगलबार दुबईको चिया ब्रान्ड फिल्ली क्याफेको फ्रेन्चाइजीको काठमाडौंमा उद्घाटन गरे। लाजिम्पाट लगायत ठमेल, बौद्ध तथा लबिम मल गरी आफ्नो चार आउटलेट विस्तारको क्रममा क्याफेले हमाललाई विशेष अतिथि बनाएर बोलाएका थिए। उनीहरूले हमालकै हातबाट क्याफेको उद्घाटन गराए।

हमालले उद्घाटन गर्दा विशेष अतिथिको रुपमा उपस्थित भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य बलर सोमपाल कामीले ताली पिटे। विश्वकप क्रिकेटमा समूह चरणको सबै खेलमा पराजित भएपछि नेपाल फर्किएका क्रिकेटर कामी क्याफे उद्घाटनमा विशेष अतिथि बनेर पुगेका हुन्।

नेपालमा नविन खड्का र धुब्र रिजालले फिल्ली क्याफे सञ्चालनमा ल्याएका हुन्। उद्घाटन कार्यक्रममा फिल्ली क्याफेका संस्थापक तथा सीईओ रहिफ फिल्ली प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए। नेपालमा सञ्चालनको जिम्मा लिएका खड्का र रिजालले यसै वर्ष पोखरामा र आगामी पाँच वर्षमा देशभर २५ भन्दा बढी आउटलेट थप्ने लक्ष्य राखेका छन्।

रिजालका अनुसार कम्पनीले आफ्नै बेकरी उत्पादन, सेन्ट्रल किचेन र बारिस्टा कोर्सहरू दिने तयारी पनि गरिरहेको छ। बढ्दो चिया संस्कृतिलाई आत्मसात गर्दै क्याफे आफ्नै विशेष स्वाद पस्कने उनले बताए।

दुबईमा एक सानो स्थानीय क्याफेको रूपमा शुरू भएको क्याफे अहिले १५ वटा देशमा विस्तार भइसकेको छ। फिल्ली क्याफे यसको सिग्नेचर ‘जाफ्रान टी’ को लागि परिचित छ, जुन चियाकोे अनुपम मिश्रण हो। साथै क्याफेले विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि बिक्री गर्छ।

असार ११, २०८१ बुधबार १४:००:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।