महिला एसिया कपको तालिका परिवर्तन, उद्घाटन खेलमा नेपालले युएईको सामना गर्ने

महिला एसिया कपको तालिका परिवर्तन, उद्घाटन खेलमा नेपालले युएईको सामना गर्ने

काठमाडौं : एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले महिला एसिया कप २०२४ को खेल तालिकामा परिवर्तन गरेको छ।

१९ जुलाईमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र युएई भिड्दैछन् भने सोही साँझ भारतले पाकिस्तानको सामना गर्नेछ।

यी दुवै खेल यसअघि जुलाई २१ मा हुने तय भएको थियो। उक्त तालिका अनुसार पहिलो खेल नेपाल र पाकिस्तानले खेल्ने थियो भने दोस्रो खेल भारत र युएईबीच हुने थियो।

यी दुई खेल बाहेक कार्यक्रमको बाँकी खेल यथावत रहनेछ। १९ देखि २८ जुलाई सम्म चल्ने प्रतियोगिताका सबै खेल डम्बुलामा खेलाइनेछ। यो पटक महिला एसिया कपमा आठ टोली सहभागी हुँदैछ।

अघिल्लो संस्करणमा सबै टोलीले एकअर्कासँग खेलेका थिए भने यसपाली सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा भारत, नेपाल, पाकिस्तान र युएई रहेका छन् भने समूह ‘बी’ मा आयोजक श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्याण्ड छन्।

प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्, जुन २६ जुलाईमा हुनेछ। फाइनल जुलाई २८ मा हुनेछ।

प्रतियोगिता अन्तिम पटक २०२२ मा भएको थियो, जहाँ फाइनलमा भारतले श्रीलंकालाई ८ विकेटले पराजित गरेको थियो। भारत यस प्रतियोगिताको सबैभन्दा सफल टोली हो। उसले यो उपाधि ७ पटक जितेको छ।

असार ११, २०८१ बुधबार १२:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।