चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरे राष्ट्रपतिसँग शिष्टाचार भेट

चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरे राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई पक्षीय हित, आपसी सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए।

उनले सुनसँग नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास समेत व्यक्त गरे।

भेटमा नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिको लगायतले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठूलो योगदान गरेको पौडेलले बताए।

असार ११, २०८१ बुधबार ११:३०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।