लमजुङमा पहिरोले तीन घर बगाउँदा चार जना बेपत्ता, पानी नरोकिँदा उद्धारमा कठिनाइ

लमजुङमा पहिरोले तीन घर बगाउँदा चार जना बेपत्ता, पानी नरोकिँदा उद्धारमा कठिनाइ
फाइल तस्बिर

काठमाडौं : अविरल वर्षासँगै गएको पहिरोका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा तीन घर बगाउँदा चार जना बेपत्ता भएका छन्।

राती आएको पहिरोले घर बगाउँदा बेपत्ता भएकाहरूले अहिले खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले उकेरालाई जानकारी दिइन्।

गाउँसम्म जाने मोटरबाटो नभएकाले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदैछ। पानी परिरहेकाले पहिरो गएको स्थानमा जानसक्ने अवस्था नभएको उनले बताइन्।

त्यसैगरी गएरातीकै पहिरोका कारण बेसीशहर नगरपालिका-११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोकै कारण बेसीशहर-मनाङ सडक पनि अवरुद्ध भएको छ। बेसीशहर-६ खरखरेमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो।

असार ११, २०८१ बुधबार ०८:०५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।